गृहपृष्ठ अर्थ/वाणिज्य चुनाव गर्न निर्वाचन आयोगद्धारा अर्थ मन्त्रालयसँग ७ अर्ब ७ करोड माग

चुनाव गर्न निर्वाचन आयोगद्धारा अर्थ मन्त्रालयसँग ७ अर्ब ७ करोड माग

प्रकाशित मिति:

काठमाडौं : वैशाख १७ र २७ गते चुनाव गर्न निर्वाचन आयोगले अर्थमन्त्रालयसँग बजेट मागेको छ। आयोगले मन्त्रालयलाई ७ अर्ब ७ करोड ९४ लाख ८० हजार माग गरेको हो। बुधबार आयोगले विज्ञप्ति जारी गर्दै पहिलो चरणको चुनाव वैशाख १७ गते र दोस्रो चरणको २७ गते हुने प्रतिनिधिसभा सदस्यको चुनावका लागि बजेट माग गरेकोबारे जानकारी दिएको हो।

आयोगले मन्त्रालयसँग निर्वाचन सञ्चालन र व्यवस्थापन गर्न ७ अर्ब ७ करोड ९४ लाख ८० हजार माग गरेको हो। त्यसको निकासाका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २७ र २८ अनुसार मंगलबार मन्त्रालयलाई पत्राचार गर्ने निर्णय गरेको थियो।

सोही निर्णय अनुसार अर्थ मन्त्रालयमा पत्राचार भएको आयोगले जनाएको छ। आयोगका अनुसार महामारीको समयमा अपनाउनुपर्ने स्वास्थ्य सतर्कता समेतलाई ध्यान दिई निर्वाचन सञ्चालन गर्न आर्थिक कार्यविधि तयार गरिएको हो।

मंगलबार आयोग र अर्थमन्त्रीबीच बजेट व्यवस्थापन लगायतका विषयमा छलफल भएको र त्यसै आधारमा बजेट मागिएको विज्ञप्तिमा उल्लेख गरिएको छ। त्यस्तै, विगतका निर्वाचनमा प्रयोग गरी हाल मौज्दातमा रहेका मतपेटिका लगायत विभिन्न उपकरण र सवारी साधनहरू मर्मत गरी प्रयोग गर्ने हुँदा नयाँ सामग्री, उपकरण र सवारी साधन खरिद गर्न बजेटमा समावेश नगरिएको आयोगले जनाएको छ। कोरोना महामारी तथा त्यससँग सम्बन्धित सुरक्षाका लागि न्यूनतम ३७ करोड ४१ लाख ७४ हजार प्रस्ताव गरिएको छ।

सम्बन्धित् समाचार