गृहपृष्ठ खबर कांग्रेसको १४ औं महाधिवेशन भदौंमा

कांग्रेसको १४ औं महाधिवेशन भदौंमा

प्रकाशित मिति:

काठमाडौं : नेपाली कांग्रेसले आफ्नो आगामी १४ औं महाधिवेशन भदौंमा गर्ने निर्णय गरेको छ। बुधबार बेलुका बसेको केन्द्रीय समितिको बैठकले आगामी भदौं ७ देखि १० सम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो।

पूर्व निर्धारित तालिकाअनुसार यही फागुन ७ देखि १० गतेसम्म पार्टीको १४औं महाधिवेशन काठमाडौंमा हुनुपर्ने थियो। तर कोरोना संक्रमणलगायतका कारणले त्यो संभव नभएपछि दुई दिनअघि मात्र कांग्रेसले महाधिवेशन फेरि छ महिना सार्ने निर्णय गरेको हो। निर्वाचित नेतृत्वको नियमित चार वर्षे अवधि एक वर्षअघि नै सकिएकोमा पार्टीको विधानअनुसार एक वर्ष थपिएको थियो। थपिएको त्यो अवधिमा पनि संभव नभएपछि संवैधानको विशेष प्रावधानको सुविधा उपयोग गर्दै छ महिनामा थपिएको हो।

अपरान्ह दुई बजे बस्‍ने गरी बोलाइएको कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बेलुका छ बजे सुरु भएको थियो। महाधिवेशनको क्यालेण्डरबारे शीर्ष नेताहरूबीच आन्तरिक छलफल र सहमतिपछि औपचारिक बैठक सुरु भएको थियो। शभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरूबीच भएको सहमतिअनुसार महामन्‍त्री पूर्णबहादुर खडकाले आगामी भदौं ७ देखि १० सम्म काठमाडौंमा महाधिवेशन गर्ने नयाँ कार्यतालिका बैठकमा पेस गरेका थिए। त्यसैलाई बैठकले पारित गरेको थियो।

केन्द्रीय सदस्य बीरबहादुर बलायरले आगामी भदौं ७ देखि १० सम्म काठमाडौंमा महाधिवेशन गर्ने नयाँ कार्यतालिका पारित भएको जानकारी अन्नपूर्ण अनलाइनलाई दिए। बैठक सुरु हुनुअघि सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधिलगायतका नेताहरूबीच पार्टी कार्यलयमा अनौपचारिक छलफल भएको थियो।आगामी जेठ मसान्तसम्म क्रियाशील सदस्यताको अन्तिम टुंगो लगाएर भदौंमा महाधिवेश गर्ने सहमति भएको छ।

कांग्रेसले आगामी फागुन ७ देखि १० गतेसम्म पार्टीको १४औं महाधिवेशन काठमाडौं गर्ने निर्णयसहित यसअघि नै तालिका सार्वजनिक गरेको थियो। कोरोना संक्रमणको महामारीले गर्दा पनि कार्यतालिकाअनुसार महाधिवेशनको तयारी र प्रक्रिया अघि बढ्न नसके पनि अहिलेसम्म कांग्रेसले नयाँ मिति तय गरेको थिएन। यसले केन्द्रदेखि कार्यकर्ता तहसम्म अन्योल थियो।

सम्बन्धित् समाचार