गृहपृष्ठ खबर म्यानमार प्रदर्शन : सेनाले गोली चलाउँदा २ को मृत्यु, ३० घाइते

म्यानमार प्रदर्शन : सेनाले गोली चलाउँदा २ को मृत्यु, ३० घाइते

नपिद्व : म्यानमारमा सैनिक शासनविरुद्धको प्रदर्शन झन् व्यापक बन्दै गएको छ । निर्वाचनमा धाँधली भएको भन्दै आन सान सू ची सहित थुप्रै राजनीतिज्ञहरुलाई पक्राउ गरी कू गरेपछि सेनाविरुद्ध जनताहरुले निरन्तर प्रदर्शन गर्दैआएका छन् ।

सेनाले भने पछिल्लो समय शान्तिपूर्ण प्रदर्शन दबाउन थालेको छ । शनिबार मात्रै प्रदर्शनकारीमाथि सेनाले गोली प्रहार गर्दा दुई जना मारिएका छन् । पछिल्लो पटक सेनाले कू गरेपछि उठेको प्रदर्शनमा भएको यही पहिलो हत्याको घटना हो ।

यस क्रममा ३० भन्दा बढी घाइते भएका छन् । आन्दोलन दबाउन सेनाले प्रदर्शनकारीलाई सिधै ताकेर गोली प्रहार गरेको प्रत्यक्षदर्शीहरुले जनाएका छन् ।

म्यानमारमा ५० वर्ष शासन चलाएको सेनाले २०११ मा जनतालाई सत्ता हस्तान्तरण गर्ने बाचा गरे पनि त्यसको एक दशकमै फेरि कू गरेको छ ।

गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा धाँधली भएको भन्दै सेनाले आन सान सू ची सहित थुप्रै नेताहरुलाई पक्राउ गरेको छ । र एक वर्षका लागि संकटकाल घोषणा गरेको छ । तर जनताहरु निरन्तर यसको विरुद्धमा सडकमा उत्रिएका छन् ।

विभिन्न स्थानबाट नागरिकहरु सेनाविरुद्ध स्वतस्फुर्त रुपमा सडकमा ओर्लिएका छन् । कतिपय सरकारी कार्यालयका कर्मचारीहरुले समेत राजीनामा दिँदै शासनविरुद्ध अवज्ञा गर्न थालेका छन् ।

सम्बन्धित् समाचार