गृहपृष्ठ खबर जसपा संसदीय दलको बैठक सिंहदरबारमा सुरु

जसपा संसदीय दलको बैठक सिंहदरबारमा सुरु

काठमाडौँ : सत्ता समीकरणका लागि एमालेसँग वार्ता गर्दै आएको जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको बैठक बसेको छ । सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा शुक्रबार दिउँसो संसदीय दलको बैठक बसेको हो । संसदीय दलको नेता चयन, सांसद रेशम चौधरीको रिहाइ, कांग्रेससँगको आगामी छलफलका लागि एजेन्डा लगायत विषयमा बैठक केन्द्रित हुने बताइएको छ ।

स्रोतका अनुसार हालसम्म चयन हुन नसकेको संसदीय दलको नेताको रुपमा जसपाले महन्थ ठाकुरलाई चयन गर्नसक्नेछ । यसवाहेक सत्ता समीकरणमा पार्टीको भूमिका कस्तो बनाउने जस्ता विषयमा पनि छलफल हुने जसपाका एक नेताले जानकारी दिए । दलको बैठकपछि नै जसपाका प्रमुख नेताहरु कांग्रेस र एमालेका प्रमुख नेताहरुसँग छलफलमा जुट्नेछन् ।

संसदीय दलको नेतामा अध्यक्ष उपेन्द्र यादव सहित संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र राजेन्द्र महतोले समेत दावी गरेका थिए ।

एमालेले कांग्रेस, जसपा र माओवादी केन्द्र तीनवटै पार्टीमध्ये एउटासँग सत्ता साक्षेदारी गरे पनि सरकार चलाउन सक्ने गणित संसदमा छ। प्रधानमन्त्री केपी ओलीको विकल्प खोज्न भने कांग्रेस, माओवादी केन्द्र र जसपा तीन वटै दल मिल्नुपर्ने अवस्था छ।

यही बुझेरै जसपा नेताहरू दुवै पक्षका तानातानमा थिए। माओवादी केन्द्रले साथ छाडेमा प्रधानमन्त्रीलाई बहुमतका लागि १८ मत आवश्यक पर्छ। जसपासँग निलम्बनमा रहेका दुई सांसदबाहेक पनि ३२ सांसद छन्।

सम्बन्धित् समाचार