काठमाडौं : नेपालको आर्थिक वृद्धिदर २ दशमलव १२ प्रतिशतले ऋणात्मक अवस्थामा पुगेको छ । पछिल्लो दुई दशकमै पहिलोपटक नेपालको आर्थिक वृद्धिदर २ दशमलव १२ प्रतिशतले ऋणात्मक अवस्थामा पुगेको हो । शुक्रबार सार्वजनिक आर्थिक सर्वेक्षण २०७८ मा २०७१–७२ को महाभूकम्पबाट सिर्जित आर्थिक क्षतिभन्दा पनि यो उच्च भएको जनाइएको छ ।
मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक सर्वेक्षण ०७८ सार्वजनिक गर्दै पछिल्लो २ दशकमै पहिलोपटक मुलुकको आर्थिक वृद्धिदर २ दशमलव १२ प्रतिशतले ऋणात्मक अवस्थामा पुगेको बताए । उनले स्वास्थ्य संकटको अवस्थामा क्रमशः सुधार आउने अपेक्षासहित नेपालको आर्थिक वृद्धिदर चालू आर्थिक वर्षमा ४ दशमल शून्य १ प्रतिशत रहने अनुमान गरिएको भए पनि चालू आर्थिक वर्षको तेस्रो चौमासिकबाट तीव्र गतिले फैलिरहेको कोभिड– १९ को दोस्रो लहरको कारण अनुमानित आर्थिक वृद्धिदर हासिल गर्ने कार्य चुनौतीपूर्ण बन्दै गएको बताए ।
उनले भने, ‘आर्थिक वर्ष ०७६र७७ मा कोभिड– १९ महामारीबाट नेपालको अर्थतन्त्र प्रभावित हुने गरी आर्थिक वृद्धि दर पछिल्लो २ दशकमै पहिलोपटक २ दशमलव १२ प्रतिशतले ऋणात्मक रहेको छ । यो आर्थिक वर्ष ०७१र७२ मा गएको विनाशकारी भूकम्पबाट सिर्जित आर्थिक क्षतिभन्दा पनि उच्च हो । स्वास्थ्य संकटको अवस्थामा क्रमशः सुधार आउने अपेक्षासहित नेपालको आर्थिक वृद्धिदर चालू आर्थिक वर्षमा ४ दशमलव शून्य १ प्रतिशत रहने अनुमान गरिएकोमा चालू आर्थिक वर्षको तेस्रो चौमासिकबाट तीव्र गतिले फैलिरहेको कोभिड– १९ को दोस्रो लहरको कारण अनुमानित आर्थिक वृद्धिदर हासिल गर्ने कार्य चुनौतीपूर्ण बनेको छ ।’
आर्थिक सर्वेक्षण २०७८ मा चालू आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनमा ५ दशमलव ८ प्रतिशतले वृद्धि भई अमेरिकी डलर ११ सय ९१ पुगेको अनुमान गरिएको छ । त्यसैगरी प्रतिव्यक्ति कुल राष्ट्रिय आयमा ५ प्रतिशतले वृद्धि भई अमेरिकी डलर ११ सय ९६ पुगेको अनुमान गरिएको छ । पछिल्ला वर्षहरूमा वस्तु तथा सेवाको औसत मूल्यस्तर वाञ्छित सीमाभित्र नै रहेको जनाइएको छ ।
आर्थिक वर्ष ०७६र७७ मा तीनै तहका सरकारको एकीकृत खर्च ११ खर्ब ९१ खर्ब ६ करोड रुपैयाँ रहेको छ । एकीकृत खर्चमध्ये चालू खर्च ५६ प्रतिशत र पुँजीगत खर्च ३४ दशमलव १ प्रतिशत र वित्तीय व्यवस्था ९ दशमलव ९ प्रतिशत रहेको छ । त्यसैगरी सरकारको बजेट घाटा कुल गार्हस्थ्य उत्पादनको ८ दशमलव १ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । चालू आर्थिक वर्षको फागुनसम्म संघीय राजस्वमा भने गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४ दशमलव ६ प्रतिशतले बढेर ५ खर्ब १ अर्ब ९७ करोड पुगेको छ ।
मन्त्रालयले कोभिड– १९ बाट प्रभावित उद्योग–व्यवसायका लागि ०७७ फागुनसम्म ४८ हजार ८ सय ३१ ऋणीका लागि १ खर्ब ४२ अर्ब १७ करोड पुनर्कर्जा स्वीकृत भएको जनाएको छ । कोभिड– १९ महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि तीनै तहमा गरी ३४ अर्ब ११ करोड विनियोजन भएकोमा १० अर्ब ९५ करोड खर्च हुन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।







