गृहपृष्ठ Featured बजेटमा लुम्बिनी प्रदेशका कुन-कुन आयोजना समेटिए ?

बजेटमा लुम्बिनी प्रदेशका कुन-कुन आयोजना समेटिए ?

लुम्बिनी प्रदेशमा आगामी आर्थिक वर्षको बजेटमा नयाँ कार्यक्रम कम र पुरानै आयोजनाले निरन्तरता पाएका छन् । अर्थमन्त्री विष्णु पौडेलले आज पेस गरेको बजेटमा लुम्बिनी प्रदेशभित्र यसअघि नै सञ्चालनमा रहेका कतिपय योजना सम्पन्नका लागि बजेट विनियोजन भएको छ भने केही नयाँ महत्त्वाकांक्षी योजना पनि बजेटमा समावेश भएका छन् ।

आगामी वर्षको बजेटमा ४४ वर्षअघि सुरु भएको लुम्बिनी गुरुयोजनालाई २ वर्षमा सक्ने गरी बजेटको व्यवस्था गरिएको छ । लुम्बिनी विकास कोषका अनुसार बाँकी गुरुयोजना सम्पन्न गर्न ७ अर्ब लाग्ने बताएकोमा गत साता मात्रै गुरुयोजनाकै कामका लागि ४ अर्बको ग्लोबल टेण्डर आह्वान भइसकेको छ । असार मसान्तसम्म बाँकी ३ अर्बको पनि टेण्डर आह्वान गरेर २ वर्षमा गुरुयोजनाको काम सम्पन्न गरिनेछ ।

यस्तै, भैरहवामा निर्माणधीन विमानस्थलका लागि ३ अर्ब ५३ अर्ब विनियोजन गरिएको छ । विमानस्थल सम्पन्न गर्न र दोस्रो टर्मिनल भवन निर्माणका लागि उक्त बजेट अर्थमन्त्री पौडेलले विनियोजन गरेका हुन् । विमानस्थल निर्माणको अन्तिम अवस्थामा पुगेको छ भने छिट्टै सञ्चालनको तयारी छ  । भूकम्प, नाकाबन्दी, आन्तारिक विवादका कारण यो योजना ढिला गरी सम्पन्न हुन थालेको छ ।

यसैगरी लुम्बिनी, तिलौराकोट, रामग्राम र देवदह क्षेत्र समेटी बृहत् लुम्बिनी विकास गुरुयोजना तयार गरिने बजेटमा उल्लेख छ । त्यसका लागि १ अर्ब ६० करोड विनियोजन गरेको उनले बताए । त्यस्तै तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न प्रक्रिया अगाडि बढाइने बजेटको प्राथमिकतामा परेको छ । त्यस्तै, अर्थमन्त्री पौडेलले चुनावी नाराका रु”पमा अघि सारेको तिनाउ कालीण्डकी डाइभर्सनले पनि आगामी बर्षको बजेटमा प्राथमिकता पाएको छ ।

कालीगण्डकी–तिनाउ डाइभर्सनको डीपीआर आगामी वर्ष पूरा गरेर काम सुरु गर्ने अर्थमन्त्री पौडेलले बताए । यस्तै, लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा पनि पूर्वाधार निर्माणका लागि आवश्यक बजेट विनियोजन भएको छ । गत असोजमा प्रदेशले स्थायी राजधानी देउखुरी तोकेको थियो । हाल ८ करोडको लगानीमा देउखुरीमा अस्थायी प्रदेशसभा भवन निर्माण सुरु गरिएको छ ।

त्यस्तै गुल्मीको सिमिचौरमा नियमित उडान गरिने, दाङको विमानस्थल सञ्चालनमा ल्याउने र अर्घाखाँचीमा पनि विमानस्थल बनाउने सरकारले ल्याएको बजेटमा उल्लेखछ । भीम अस्पताल भैरहवाको स्तरोन्नति गर्ने, भैरहवा भन्सार परिसरमा २ हजार मालबाहक गाडी राख्न मिल्ने गरी पार्क निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्ने बजेटमा उल्लेख छ । यसैगरी लुम्बिनीको कर्साघाटमा कृषि थोक बजार केन्द्र स्थापना, अर्घाखाँची सन्दिखर्कमा कृषि थोक बजार, बर्दघाटमा ट्रमा सेन्टर स्थापना पनि बजेटको प्राथमिकतामा परेको छ ।

दाङको लक्ष्मीपुरमा औद्योगिक क्षेत्र स्थापना, रूपन्देहीको मोतीपुर, बाँकेको नौवस्ता औद्योगिक क्षेत्रमा दुई वर्षभित्र पूर्वाधार बनाउने र त्यसका लागि बजेट विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताए । बर्दियाको राजापुरका विशेष आर्थिक क्षेत्र बनाउन विस्तृत अध्ययन गरिने बजेटमा उल्लेख छ ।

यसैगरी बुटवल मेडिकल कलेजको डीपीआर तयार गरिने, सिद्धार्थ राजमार्ग डेटिकेटेड डवलमा लेनमा स्तरोन्नति गरिने पनि बजेटमा उल्लेख छ । बाँके जिल्लामा सरकारीस्तरबाट बालसुसार गृह सञ्चालन गरिने बताइएको छ ।

यसैगरी भेरी बबई पथान्तरण बहुउद्देश्यीय आयोजनाको हेडबक्स निर्माण आगामी आर्थिक वर्षमा सम्पन्न गरिने र २ वर्षभित्र बाँके र बर्दिया जिल्लाका थप १५ हजार हेक्टरमा सिँचाइ सुविधा विस्तार गरिने अर्थमन्त्री पौडेलले बताए । सोही आयोजनामा ४८ मेगावाटको विद्युत गृह निर्माणका लागि ३ अर्ब ७ करोड रुपैयाँ विनियोजन गरेको उनले बताए । त्यस्तै नौमुरे बहुउद्देश्यीय नदी पथान्तरण आयोजनाको डीपीआर तयार गरी निर्माण सुरु गर्न पनि बजेटको व्यवस्था गरेको अर्थमन्त्री पौडेलको भनाइ छ ।

यस्तै, बजेटले भैरहवामा क्रिकेट मैदान, नवलपरासीको त्रिवेणीदेखि देवघाटसम्म जलमार्ग, सिद्धार्थनगरमा सडक, ढल, खानेपानीका लागि पूर्वाधार बनाउन बजेट विनियोजन भएको छ । बुटवल–भैरहवा लुम्बिनीका लागि चल्ने विद्यतीय बस चलाउन अनुदान दिने र बुटवलमा विद्युत् तार भूमिगत गर्ने योजना पनि बजेटमा छ ।

सम्बन्धित् समाचार