काठमाडौं : अर्थ मन्त्रालयले आर्थिक वर्ष ०७८र७९ को बजेट कार्यान्वयनका लागि गृहकार्य सुरु गरेको छ । बजेटमा उल्लेखित कार्यक्रमहरू समयमै सुरु गरी छिटो परिणाम ल्याउनका अर्थ मन्त्रालयले बजेट प्रस्तुत भएको दुई दिनमा नै बजेट कार्यान्वयनको गृहकार्य सुरु गरेको हो ।
यसै क्रममा सोमबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमा उल्लेखित योजना तथा कार्यक्रमहरू कार्यान्वयनका लागि समयतालिकासहितको कार्ययोजना बनाउन निर्देशन दिएका छन् । ‘बजेट कार्यान्वयनका लागि हामी गम्भीर छौँ । बजेटका योजना र कार्यक्रमहरू सुरुदेखि सम्पन्न गर्ने समयसम्मको स्पष्ट समयतालिका सहित अघि बढ्नुहोस्’ उनले भने, ‘बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयले सहयोग, समन्वय र सहजीकरण गर्छ ।’
अर्थमन्त्री पौडेलले बजेटमा समावेश भएका कार्यक्रमहरूको समयमा सुरु गर्नका लागि कार्यविधि र निर्देशिका समयमा तयार पार्न तथा नयाँ आर्थिक वर्षको सुरुवातदेखि नै कार्यान्वयन प्रक्रिया अघि बढाउने गरी तयारी गर्न निर्देशन दिए ।
अर्थसचिव शिशिरकुमार ढुंगानाले कार्यान्वयन र त्यसबाट आउने परिणाममा विशेष ध्यान दिन जरुरी रहेको बताउँदै स्रोतसम्बन्धी व्यवस्था अर्थ मन्त्रालयले गर्ने बताए ।








