गृहपृष्ठ Featured मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालय, भने – इन्जिनियर-ठेकेदारको लापरबाही छ, अब त्यो सुधार्ने हो

मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालय, भने – इन्जिनियर-ठेकेदारको लापरबाही छ, अब त्यो सुधार्ने हो

प्रकाशित मिति:

गण्डकी प्रदेशका नवनियुक्त मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले भौतिक पूर्वाधार विकास मन्त्रालय पाउने भएका छन् ।

शपथपछि पत्रकारसँग कुरा गर्दै उनले आफू भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय जाने बताएका छन् ।

यो मन्त्रालय योजना र आर्थिक हिसाबले निकै हेभीवेट मानिन्छ । आफूले युवा तथा खेलकुद मन्त्रालयमा काम गर्न जग बसाएको र अब भौतिक पूर्वाधारतिर जाने उनले बताए ।

यो मन्त्रालय माओवादीका रामजी बरालले पाउने पक्का भए पनि मनाङेलाई दिनुपर्ने बाध्यता आइपरेको छ ।

मनाङे सरकार बनाउन र गिराउन निर्णायक भएकाले उनले मागेअनुसारकै मन्त्रालय पाउने लगभग पक्का छ ।

मनाङे पृथ्वीसुब्बा गुरुङ नेतृत्वको क्याबिनेटमा युवा तथा खेलकुद मन्त्री थिए ।

`अब खेलकुदमा गएर काम गर्न गाह्रो छैन,´ उनले भने, `म अब जुन मन्त्रालयमा जाँदै छु त्यहाँ इन्जिनियर, ठेकेदारको लापरबाही छ । अब त्यो सुधार्ने हो ।´

काँग्रेसका एक सांसदले पनि मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालय पाउने निश्चित रहेको बताए ।

मनाङेले खेलकुद मन्त्रालय काँग्रेस सांसद भागवतप्रकाश मल्ललाई दिनुपर्ने बताएका छन् ।

मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल, मन्त्रीमा मनाङेसहित चार जनाले आज शपथ लिएका छन् ।

उनीहरुको मन्त्रालयको टुंगो लागिसकेको छैन ।  हाललाई ११ वटै मन्त्रालय मुख्यमन्त्री पोखरेल आफैंले राखेका छन् ।

सम्बन्धित् समाचार