गृहपृष्ठ Featured एसईई : आन्तरिक मूल्यांकनमा ८० प्रतिशतभन्दा बढी अंक दिइए कारण खुलाउनुपर्ने

एसईई : आन्तरिक मूल्यांकनमा ८० प्रतिशतभन्दा बढी अंक दिइए कारण खुलाउनुपर्ने

प्रकाशित मिति:

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले कुनै विषयमा ८० प्रतिशतभन्दा बढी प्राप्तांक दिए अनिवार्य कारण खुलाउनुपर्ने व्यवस्थासहित एसईईको विद्यार्थी मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७८ जारी गरेको छ ।

गतवर्ष आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशन गर्दा शिक्षकहरूले बढाइचढाई अंक दिएको पाइएपछि यसपटक केही कसिलो प्रावधानसहित कार्यविधि जारी गरिएको हो । बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले सैद्धान्तिकतर्फ कुनै पनि विषयमा ८० प्रतिशत वा त्यसभन्दा बढी अंक प्राप्त गर्ने विद्यार्थीको हकमा विषयगत शिक्षकले अनिवार्य रूपले ठोस कारण उल्लेख गर्नुपर्ने बताए । ‘नतिजा सकभर वस्तुनिष्ठ होस् भनेर केही व्यवस्था गरेका छौं,’ उनले भने, ‘विद्यालयस्तरीय मूल्यांकन समिति पनि गत वर्षभन्दा बढाएर ५ जनाको बनाएका छौं ।’

विद्यालयले पठाएको अंक अस्वाभाविकलागे जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाई प्रमुखले पुनः विद्यालयमा फिर्तापठाउन सक्ने व्यवस्थासमेत गरिएको छ । गतवर्षजस्तो जथाभावी अंक दिने प्रवृत्ति रोक्न यस्ता प्रावधान राखिएको बोर्डका पदाधिकारीहरूले जनाए ।

विद्यालयले पठाएको अंक अस्वाभाविक लागेमा इकाईले आधार र प्रमाणसहितको कागजातसमेत माग गर्न सक्ने कार्यविधिमा उल्लेख छ । अस्वाभाविक अंक पाउने विद्यार्थीको कक्षा ८ देखिको नतिजाका उपलब्धि विश्लेषण गर्न सकिनेछ् ।

५ लाख १७ हजार विद्यार्थी एसईईको नतिजाको पखाईमा छन् । कार्यविधिअनुसार यी प्रत्येक विद्यार्थीको विषय शिक्षकले मूल्यांकन गरेर विद्यालयस्थित मूल्यांकन समितिमा अंक पेस गर्नुपर्नेछ । प्रधानाध्यापकको संयोजकत्वमा ५ सदस्यीय समिति रहनेछ् । समितिमा अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षकसहितका सदस्य हुनेछन् । समितिले विषय शिक्षकले बुझाएको विद्यार्थीको प्राप्तांक प्रमाणित गरेर इकाईमा बुझाउनेछ । इकाईले रुजु र प्रमाणीकरणसहित विद्यालयबाट प्राप्त अंक बोर्डमा पठाउनुपर्नेछ ।

कसरी दिने अंक ?

प्रयोगात्मक अभ्यास हुने र नहुने विषयमा आन्तरिक मूल्यांकनबाट अंक दिने छुट्टाछुट्टै विधि बनाइएको बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले जनाए । ‘विद्यालयले सञ्चालन गरेको कक्षा १० को इकाई, त्रैमासिक, अर्धवार्षिक र अन्तिम परीक्षामा प्राप्त गरेको प्राप्ता‌ंकहरू र विषय शिक्षकद्वारा कक्षामा गरिएको निर्माणात्मक मूल्या‌ंकनका आधारमा अंक दिने व्यवस्था गरिएको छ,’ उनले भने । प्रयोगात्मक अभ्यास हुने विषयतर्फ विद्यालयले यसअघि सञ्चालन गरेका परीक्षाका आधारमा ५५ प्रतिशत अंक प्रदान गरिनेछ । पहिलो, दोस्रो, तेस्रो र अन्तिम परीक्षाको आधारमा क्रमशः ८, १२, १५ र २० प्रतिशत अंक प्रदान गर्ने व्यवस्था गरिएको छ ।

२० प्रतिशत पूर्णाङ्कमा विषय शिक्षकले मूल्यांक‌‍न गर्नेछन् । ‘कक्षा सहभागिता, कक्षाकार्य, परियोजना कार्य, गृहकार्य, सामुदायिक कार्य, अतिरिक्त क्रियाकलाप, प्रस्तुतीकरण, सामूहिक कार्य, लिखित तथा मौखिक इकाई परीक्षाहरू आदिको विद्यालयमा भएको रेकर्ड वा अभिलेखका आधारमा विषय शिक्षकले निर्माणात्मक मूल्यांकन गरी अंक प्रदान गर्नेछन्,’ कार्यविधिमा भनिएको छ । बाँकी २५ प्रतिशतको भने प्रयोगात्मक अभ्यासका आधारमा अंक पठाउनुपर्नेछ ।

प्रयोगात्मक अभ्यास नहुने गणितलगायत विषयका हकमा भने विद्यालयले लिएको परीक्षाको आधारमा ७५ प्रतिशत अंक र विषय शिक्षकले मूल्यांकन गरी २५ प्रतिशत अंक दिन पाउनेछन् । अंक पठाउनका लागि बोर्डले कार्यविधिमा अनुसूचीहरूसमेत उपलब्ध गराएको छ । प्रयोगात्मक विषयका प्राप्तांक भने विद्यालयहरूले यसअघि नै इकाईमा बुझाइसकेका छन् । ग्रेडवृद्धि परीक्षाका लागि आवेदन दिएका विद्यार्थीको अनलाइन वा अफलाइन माध्यमबाट सैद्धान्तिकतर्फको परीक्षा सञ्चालन गरेर अंक पठाउनुपर्ने बोर्डले जनाएको छ ।

कोभिड संक्रमणको दोस्रो लहरका कारण गत जेठ १३ बाट सञ्चालन हुने भनिएको एसईई परीक्षा स्थगित गरिएको थियो । मन्त्रिपरिषद्ले जेठ १७ गते आन्तरिक मूल्यांकनलाई आधारका आधारमा एसईईको परीक्षाफलको तयारी, प्रकाशन र प्रमाणपत्र जारी गर्न स्वीकृति दिएको थियो । त्यसपछि बोर्डले कार्यविधि बनाएर जारी गरेको हो ।

नतिजा पठाउन असार २० को समयसीमा

बोर्डले विद्यार्थीले आन्तरिक मूल्यांकनबाट प्राप्त गरेको अंक तोकिएको मितिभित्र इकाईमा पठाउन देशभरका विद्यालयलाई परिपत्र पनि गरेको छ । बोर्डले सोमबार सूचना जारी गर्दै विद्यार्थीको प्राप्तांक विद्यालयले असार २० भित्र इकाईमा र इकाईले असार मसान्तभित्र बोर्डमा पठाइसक्नुपर्ने जनाएको हो । इकाईले पठाएको अंक अक्षरांकन पद्धतिमा रूपान्तरण गरेर बोर्डले नतिजा प्रकाशन गर्नेछ । कार्यविधिअनुसार मूल्यांकन समितिले विद्यार्थीलाई नम्बर दिँदा विश्वसनीय हुनुपर्नेसमेत बोर्डले दोहोर्‍याएको छ ।

तोकिएको समय र ढाँचामा विद्यालय र इकाईले प्राप्तांक पठाए १५ दिनभित्रै अर्थात् साउन १५ सम्म नतिजा प्रकाशन गर्न सकिने बोर्डका सदस्यसचिव अर्यालले जनाए । ‘केही ढिलाइ भयो भने पनि साउन मसान्तसम्म नतिजा प्रकाशन गर्ने लक्ष्य छ,’ उनले भने ।

सम्बन्धित् समाचार