कपिलवस्तु : कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १ ले एघार जना कृषकलाई पानी तान्ने मोटर वितरण गरेको छ ।वडाले कृषि विकास कार्यक्रम अन्तर्गत बैकल्पिक सिचाईंका लागि कृषकहरुलाई ६०÷४० को लागत सहभागितामा मोटर वितरण गरेको हो । वडाध्यक्ष जगतबहादुर जि.सी.का अनुसार वडा कार्यालयको ६० प्रतिशत र कृषकहरुको ४० प्रतिशत लागत सहभागिता रहेको छ ।
आव२०७७/०७८ मा विनियोजित वडास्तरीय बजेट, नीति तथा कार्यक्रम अन्तर्गत उपभोक्ता समिति मार्फत कृषि पेशा अगाल्ने ११ जना कृषकहरुलाई मोटर वितरण गरिएको वडाध्यक्ष जि.सी.ले बताए । यसअघि ८ जना कृषकहरुले बोरिङ जडान गरिसकेको जि.सी.ले जानकारी दिए । अर्को प्रसंगमा वडाध्यक्ष जि.सी.ले नगरपालिकाको बजेट, नीति तथा कार्यक्रमप्रति असन्तृष्टी पोख्दै भुगोल र जनसंख्याको आधारमा बजेट विनियोजन नभएसम्म समता हुन नसक्ने ठोकुवा गरे ।
कार्यक्रममा कृषि विकास कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष बालाराम बुढाले वास्तविक कृषकको पीडा र अभावमा मलमपट्टी लगाउनुपर्नेमा जोड दिए । सरकार कृषककहाँ धाउनुपर्नेमा कृषकहरु सरकारकहाँ धाउनुपर्ने उल्टो सिस्टमले वास्तविक कृषक राज्यको सेवा सुविधाबाट बन्चित हुनुपरेको समिति अध्यक्ष बुढाले गुनासो गरे ।







