काठमाडौं : नेतृत्व चयनका मुख्य आधार मानिएको क्रियाशील सदस्यताको किचलो कांग्रेसमा उत्कर्षमा पुगेको छ । सदस्यता छानबिनमा देखिएका विवाद समाधानका लागि आवश्यक मापदण्ड बनाउने विषयमा नेताहरूबीच मतभेद छ ।
संस्थापन पक्षले जथाभावी क्रियाशील सदस्यता थप गर्न लागेको भन्दै इतर पक्षका नेताहरूले विरोेध जनाएका छन् । सभापति शेरबहादुर देउवाले पार्टी प्रवेश र समायोजनका क्रममा आफूअनुकूल क्रियाशील सदस्यता थप गरी पार्टी कब्जा गर्ने नीति लिएको पौडेल समूहका नेताहरूको आशंका छ ।
यही विषयमा सोमबार संस्थापनइतर पक्षका नेताहरू रामचन्द्र पौडेल, डा.शेखर कोइराला, सुजाता कोइराला, कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंहले छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।
डा.कोइराला सोमबार बिहानै पौडेलनिवास बोहराटार पुगेका थिए भने दिउँसो पौडेल सुजाता कोइरालानिवासमै पुगे । भेटमा नेता सिटौला पनि सहभागी थिए । साँझ पौडेलले आफ्नै निवासमा प्रकाशमान सिंहसँग पनि छलफल गरेका छन् ।








