१९ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतबाट प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा फैसला आउँदासम्म हस्ताक्षर फिर्ता नलिने एमालेका निवर्तमान सांसदहरु पार्टीमा नरहने बताएका छन् ।
बालुवाटारमा शनिबार बसेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले भनेका छन्, ‘मुद्दाको फैसला हुँदासम्म नेकपा एमाले ढाल्ने, प्रमुख प्रतिपक्षको नेतृत्वमा वैकल्पिक सरकार बनाउनेमा हस्ताक्षर जजसको कायम रहन्छ,, ती पार्टी कार्यकर्ता होइनन् ।’ फैसला आउँदा कित्ता छुट्टिसक्ने उनले बताए ।
शुक्रबार मात्र अध्यक्ष ओलीले हस्ताक्षर फिर्ता लिन सोमबार साँझ ५ बजेसम्मको अल्टिमेटम दिएका थिए । तर नेपाल पक्षले हस्ताक्षर फिर्ता लिन मानेको छैन ।
शनिबार अध्यक्ष ओलीसँग भएको टेलिफोन सम्वादका क्रममा नेता नेपालले फैसला स्वीकार्न सकिने, तर गठित कार्यदललाई सक्रिय बनाउने प्रस्ताव राखेका छन् ।
तर अध्यक्ष ओलीले बैठक रोकेनन् । बरु फैसला आउँदासम्म हस्ताक्षर फिर्ता लिन आग्रह गरे । ‘जो पार्टीको पक्षमा बोलिरहेको छ, त्यो नेता कार्यकर्ता हो’ उनले भने, ‘जो पार्टीको पक्षमा बोलिरहेको छैन, काम गरिरहेको छैन, त्यो नेता कार्यकर्ता होइन । पार्टीको विरोधमा बोलेर पनि नेता कार्यकर्ता हुन्छ ?’
पार्टीको विचार, संगठन, एकताको पक्षमा उभिनेहरु मात्र नेता हुने भन्दै उनले अघि भने, ‘पार्टीलाई ढाल्ने उद्देश्यमा सक्रिय छ भने पार्टीको नेता होइन । छद्म हो भने थाहा पाएको दिन हट्छ । खुलेआम छ भने हटेकै भन्ने थाहा पाए हुन्छ ।’
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपालको राजनीतिक हैसियतबारे समेत टिप्पणी गरेका छन् । ‘प्रतिपक्षी मोर्चामा हस्ताक्षर गरेर हिँड्नेको हैसियत के हुन्छ ? लुकेको कुरा होइन’, ओलीले अघि भनेका छन् ।
अरुको पार्टीमा जानेलाई पर्खेर नबस्ने अध्यक्ष ओलीले बताए । ‘जेठ २ मा फर्कियौं, त्यो भनेको यही हो । जो आउँदैन, अर्को पार्टीमा जानेलाई पर्खिने होइन’, ओलीको भनाइ छ ।








