गृहपृष्ठ खबर टोपबहादुरको आरोप– माओवादी केन्द्र छापामार शैलीमा चलिरहेको छ

टोपबहादुरको आरोप– माओवादी केन्द्र छापामार शैलीमा चलिरहेको छ

नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले माओवादी केन्द्र भूमिगत र छापामार शैलीमा चलिरहेको आरोप लगाएका छन् ।

शुक्रबार माओवादी केन्द्र खारेजीका लागि निर्वाचन आयोगमा परेको निवेदनको सम्बन्धमा बुझ्न अन्य नेताहरूसहित पुगेका पूर्वमाओवादी केन्द्रका नेता रायमाझीले माओवादी केन्द्र नेपालको संविधान, कानुन र राजनीतिक दलसम्बन्धी ऐनअनुसार नचली भूमिगत र छापामार शैलीमा चलिरहेको आरोप लगाएका हुन् ।

उनले विगत २९ वर्षदेखि माओवादी केन्द्रको महाधिवेशन नभएको भए पनि २०६९ सालमा एउटा नाम मात्रैको महाधिवेशन भएको र त्यसपछि पनि महाधिवेशन नभएकाले पार्टी नै अवैध भएको बताए । उनले अवैध पार्टीले जननिर्वाचित प्रतिनिधिलाई कारबाही गरेको पनि उल्लेख गरे ।

‘माओवादी केन्द्र नेपालको संविधान, नेपालको कानुन र राजनीतिक दलसम्बन्धी ऐनअनुसार चलिरहेको छैन । २०६९ सालपछि माओवादी केन्द्रको महाधिवेशन भएको छैन । एमाले र माओवादीको एकतालाई शून्य समय माने पनि करिब ७ वर्ष भयो,’ उनले भने, ‘राजनीतिक दलसम्बन्धी ऐनमा प्रत्येक ५ वर्षमा महाधिवेशन गर्नुपर्ने भनेको छ । उसले आफ्नो अद्यावद्यिक गर्न सकिरहेको छैन । त्यस्तो अवैधानिक पार्टीले वैधानिक जनप्रतिनिधिलाई कारबाही गरेको छ । संघीय सांसद, प्रदेश सांसद, स्थानीय तहका जनप्रतिनिधि र जनताबाट प्रत्यक्ष चुनिएका वैधानिक जनप्रतिनिधिलाई अवैधानिक पार्टीले कारबाही गर्ने ?’

उनले राजनीतिक पार्टी संस्थागत, वैधानिक र कानुनसंगत हुनुपर्ने बताए ।

सम्बन्धित् समाचार