आज देशभर बदली रही धेरै भू-भागमा पानी पर्ने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी तथा धेरै भारी वर्षा हुन सक्ने छ ।
आज राति धेरै स्थानमा पानी पर्ने छ भने प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी तथा धेरै भारी वर्षाको सम्भावना छ ।
देशभर मनसुनी वायुको प्रभाव रहेको जानकारी दिँदै महाशाखाले अहिले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायतका भू-भागमा पानी परिरहेको जनाएको छ ।
भोलि देशभर बदली रही धेरै स्थानमा वर्षा हुने छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने छ ।
त्यस्तै मंगलबार देशभर बदली रही धेरै स्थानमा पानी पर्ने छ । प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानमा भने भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।







