गृहपृष्ठ खबर पर्वतको एउटै गाउँका १२ बालबालिकामा कोरोना संक्रमण, नयाँ भेरियन्टको आशंका

पर्वतको एउटै गाउँका १२ बालबालिकामा कोरोना संक्रमण, नयाँ भेरियन्टको आशंका

पर्वतको एउटा गाउँमा १२ बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कुश्मा नगरपालिका- ८, चुवामा १२ बालबालिका कोरोना सङ्क्रमित भएका हुन् । जिल्लाभर बालबालिका सङ्क्रमित कम मात्रामा भइरहेको अवस्थामा पछिल्लो एक हप्तामा चुवामा एकैपटक १२ बालबालिका सङ्क्रमित भएका हुन् ।

वडाध्यक्ष राजकुमार क्षेत्रीका अनुसार १३ महिनादेखि ११ वर्ष उमेर समूहका बालबालिका सङ्क्रमित भएका हुन् । रुघाकोकी, ज्वरोलगायतका लक्षण देखिएपछि गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएको उनले बताए ।

क्षेत्रीले बालबालिका धमाधम सङ्क्रमित भएकाले नयाँ भेरियन्टको आशङ्का गरिएको बताए । अनुसन्धानकर्ताले तेस्रो लहरको सङ्क्रमणले बालबालिका प्रभावित हुने प्रक्षेपण गरेका थिए ।

पर्वतको यो सङ्क्रमणको घटना तेस्रो लहरको सङ्केतका रूपमा व्याख्या गरे पनि भेरियन्टको परीक्षण गर्न स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशलाई अनुरोध गरिएको वडाध्यक्ष क्षेत्रीले बताए ।

चुवामा मात्रै अहिले बालबालिकासहित विभिन्न उमेरका ४२ जना सक्रिय सङ्क्रमित रहेका छन् । वडाले स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानी र अक्सिजनसहितको आइसोलेसन सञ्चालन गरेको छ ।

सम्बन्धित् समाचार