गण्डकी प्रदेशका नवनियुक्त ६ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
कांग्रेस र माओवादीका तीन/तीन जनाले प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष शुक्रबार शपथ लिएका हुन् ।
कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रीमा कांग्रेसका विन्दुकुमार थापा, शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रीमा मेखलाल श्रेष्ठ र पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कँडेलले शपथ लिएका छन् ।
माओवादी केन्द्रबाट अर्थमन्त्रीमा रामजी बराल, भूमि व्यवस्था, कृषि, सहकारी, तथा गरिबी निवारण मन्त्रीमा चन्द्रबहादुर बुढा, वन, वातावरण तथा भू-संरक्षण मन्त्रीमा दीपक थापाले शपथ लिएका हुन् ।
११ सदस्यीय मन्त्रीमण्डलमा यसअघि नै मुख्यमन्त्रीसहित पाँच जना थिए । कांग्रेसका कुमार खड्का, माओवादीकी मधुमाया अधिकारी गुरुङ, जसपाका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ २९ जेठमा मन्त्री भएका थिए ।
खड्का शिक्षा मन्त्री रहेकोमा भौतिक पूर्वाधार विकास मन्त्री बनाइएका छन् । अधिकारी स्वास्थ्यमन्त्री, आचार्य ऊर्जामन्त्री र गुरुङ युवा तथा खेलकुद मन्त्री छन् ।







