गृहपृष्ठ खबर बैतडीको लटिनाथ मन्दिरको सुन चोरी : चोर्ने र किन्ने सात जना पक्राउ

बैतडीको लटिनाथ मन्दिरको सुन चोरी : चोर्ने र किन्ने सात जना पक्राउ

प्रकाशित मिति:

बैतडीको एक मन्दिरको सुन चोरीको आरोपमा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामध्ये चार जना सुन चोरीमा संलग्न र तीन जना भने सुन खरिद गर्ने व्यापारी रहेका छन् ।

बैतडीको दोगडाकेदार गाउँपालिका– १ रीमस्थित लटिनाथ मन्दिरको सुन चोरी भएपछि खरिद गर्ने बैतडीको दशरथचन्द नगरपालिका–४ गढीका सुन चाँदी व्यवसायी ३३ वर्षीय कञ्चन पौडेल र सोही ठाउँका ४५ वर्षीय गणेशकुमार पौडेल पक्राउ परेका हुन् ।

गणेश नेपाल सुन चाँदी व्यवसायी सङ्घ बैतडीका अध्यक्षसमेत हुन् । दुवै जनाले गोठलापानीमा सुनचाँदी पसल सञ्चालन गर्दै आएका छन् । यस्तै सुन खरिद गरेको आरोपमा दार्चुलाको शैल्यशिखर नगरपालिकाका सुनचाँदी व्यवसायी भुवनसिंह साहुलाई पक्राउ गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।

गत पुसमा दोगडाकेदार–१ रीमकै धनबहादुर कार्की, लालबहादुर कार्की, केशव सार्की र हरिकृष्ण सार्कीले योजना बनाएर मन्दिरको सुन लुटेको पुष्टि भएको थियो । उनीहरू चारै जनामाथि चोरी मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको छ ।

मन्दिरको सुन पुसमा चोरिएको भए पनि चैतमा मात्रै थाहा भएको थियो । चैतपछि गाउँमा स्थानीयले सुन चोर्नेको सोधीखोजी गरेका थिए । उनीहरूले असार अन्तिम साता मात्रै मन्दिरको सुन चोरी भएको विषयमा प्रहरीलाई जानकारी गराएका थिए ।

सम्बन्धित् समाचार