नेपाल सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने लक्ष्यनजिक पुगेको छ । आठ वर्षको अवधिमा ११४ वटा बाघ थपिएसँगै नेपाल लक्ष्यनजिक पुगेको हो । सन् २०१० मा गरिएको गणनामा बाघको संख्या १२१ थियो । २०१८ मा गरेको गणनामा बाघको संख्या २३५ पुगेको राष्ट्रिय बाघ संरक्षण समितिले जनाएको छ ।
सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा विश्व बाघ सम्मेलनमा बाघ पाइने नेपालसहित १३ वटा मुलुकले सन् २०२२ सम्म १२१ बाट दोब्बर बनाई २५० पुर्याउने प्रतिवद्धता जनाएको थियो । सो प्रतिवद्धता पूरा गर्ने चरणमा नेपाल पुगेको हो ।

बिहीबार विश्व बाघ दिवसको अवसरमा ललितपुरको राष्ट्रिय प्रकृति संरक्षण कोषमा भएको कार्यक्रममा संरक्षण समितिले सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर पुर्याउने प्रतिवद्धता जनाएको छ । कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले बाघलगायत वन्यजन्तुमैत्री पूर्वाधार निर्माणका लागि आवश्यक मापदण्ड तर्जुमा गरी कार्यान्वयन गर्न नेपालसरकार प्रतिबद्ध रहेको बताए ।
नेपालमा प्रत्येक पाँच वर्षमा बाघको गणना हुँदै आएको छ । अब बाघको गणना आउँदो नोभेम्बरमा हुँदै छ ।







