विशेषज्ञले शिशु जन्मेको ६ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्ने भन्दै आमाको दूध नै पहिलो खोप भएको औंल्याएका छन् । जन्मनेबित्तिकै स्तनपान गर्न पाउनु शिशुको नैसर्गिक अधिकार भएको भन्दै उनीहरूले शिशु जन्मेपछि ६ महिनाको उमेरसम्म उसलाई चाहिने सम्पूर्ण पौष्टिक तत्वहरू आमाको दूधमा पर्याप्त हुने बताएका छन् ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले विश्व स्तनपान सप्ताह २०७८ को अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै पोषण शाखा प्रमुख केदार पराजुलीले शिशु जन्मेको ६ महिना पूरा भएपछि पोषिलो थप खानाका साथसाथै कम्तीमा दुई वर्षसम्म स्तनपानलाई पनि निरन्तरता दिनुपर्ने बताए ।
पोषण शाखा प्रमुख पराजुलीले भने, ‘आमाको दूध बच्चाका लागि अमृत समान हुन्छ । आमाको दूधमा रोगसँग लड्ने प्रतिरोधात्मक तत्व हुन्छ । त्यो बट्टाको दूधमा पाइँदैन ।’ उनले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको प्रवद्र्धन गर्न नहुने बताए ।
नेपाल मल्टिइन्डिकेटर क्लस्टर सर्वे २०१९ अनुसार नेपालमा शिशु जन्मेको १ घण्टाभित्रै स्तनपानको सुरुवात गर्नेको संख्या ४२ प्रतिशत रहेको छ । यस्तै, पूर्णस्तनपान गराउनेको संख्या ६२ प्रतिशत रहेको छ । सर्वेक्षणअनुसार दुई वर्षसम्म स्तनपान गराउनेको संख्या ८७.६ प्रतिशत रहेको छ ।
बट्टाको दूध सेवन गर्ने शिशुमा रोगसँग लड्ने क्षमतामा कमी हुँदै भविष्यमा मोटोपना, मधुमेहलगायतका रोग लाग्न सक्ने अध्ययनले देखाएको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण सन् २०१६ को तथ्यांकअनुसार नेपालमा पूर्ण स्तनपान गराउनेको संख्या ६६ प्रतिशत र शिशु जन्मेको एक घन्टाभित्रै स्तनपान गराउनेको संख्या ५५ प्रतिशत छ ।
यस्तै, शिशु जन्मेदेखि दुई वर्षसम्म स्तनपानलाई निरन्तरता दिनेको संख्या ८९ प्रतिशत रहेको छ । नेपालमा शिशु जन्मेदेखि एक महिनासम्म आमाको दूध मात्र खुवाउनेको संख्या ८० प्रतिशत रहेको परिवार कल्याण महाशाखाले जनाएको छ ।








