काठमाडौं : नेकपा एमालेले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याए प्रतिवाद गर्ने चेतावनी दिएको छ। मंगलबार बसेको पार्टी स्थायी कमिटीको बैठकले चालु संसद अधिवेशन आकस्मिक रुपमा अन्त्य गरेर राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याए विरोध गर्ने निर्णय गरेको एमाले प्रवक्ता प्रदीप कुमार ज्ञवालीले जानकारी दिए।
सोमबार मध्यरातदेखि संघीय संसदको अधिवेशन अन्त्य गरेर सरकारले उक्त अध्यादेश ल्याउन लागेको सूचना पाएको उनको दाबी छ। उनले भने, ‘संसद अधिवेशनलाई आकस्मिक रुपमा अन्त्य गरेर पार्टी विभाजनका लागि अध्यादेश ल्याउने, प्रमुख प्रतिपक्षी दलभित्रका केही अराजक र पदलोलुप व्यक्तिहरुलाई विभाजनका लागि वैधानिक आधार प्रदान गर्ने र लोकतान्त्रिक प्रणालीभित्र चरम विकृति र भ्रष्टता भित्र्याउने जुन तयारी जुन गरिदैछ, यो विषय अत्यन्त आपत्तिजनक र अस्वीकार्य छ।’
एमालेले दल विभाजन गर्ने षडयन्त्रविरुद्ध उत्रिन अपिल गरेको छ। ज्ञवालीले असंसदीय क्रियाकलापको गम्भीर विरोध र सशक्त प्रतिवाद गर्दा उत्पन्न परिणामको जवाफदेही सरकार हुनुपर्ने बताएका छन्। एमालेले अफगानिस्थानमा फसेका नेपालीलाई सुरक्षित ढंगले स्वदेश फिर्ता गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ। सेनाबाट अवकाश प्राप्त गोर्खा सैनिकहरुले बेलायती सहकर्मीसरह पेन्सनलगायत समान सुविधाको माग गर्दै लामो समयदेखि आन्दोलित हुँदै आएको र सोही विषयलाई लिएर अनसन समेत जारी रहेकाले उक्त समस्याको समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ।








