काठमाडौं : नेकपा (माओवादी कन्द्र)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले केपी ओलीले जाली तमसुक गरेर आफूमाथि ठगी गरेको आरोप लगाउनुभएको छ ।
अध्यक्ष दाहालले अध्यक्ष र प्रधानमन्त्री आधा–आधा हुने भनेर जाली तमसुकमा हस्ताक्षर गराएर आफूमाथि ओलीले ठगी गरेको टिप्पणी गर्नुभएको हो । वाईसीएल नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय भेलामा बोल्दै उहाँले ओलीले जाली तमसुक गरेर प्रधानमन्त्री पद पड्काएपछि आफू हेरेको हेरेइ भएको दुःखेसो पोख्नुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो, ‘अध्यक्ष आलोपालो, प्रधानमन्त्री पनि पालो गर्ने भन्ने सहमतिमा सही गरियो । त्यहाँ भन्दा के चाहियो रु हामीले त जे भनेको त्यही हुन्छ भन्ने बुझियो । तर, त्यो पछि त खाली प्रधानमन्त्री प्राप्तिका लागि ठगी धन्दा रहेछ । हामी तमसुक हेरेर बसियो, उनले प्रधानमन्त्री पड्काए, लगेको लग्यै पारे ।’
अध्यक्ष दाहालले ओलीसँग गठबन्धन गरेर के पायौं रु भनेर आफूमाथि सत्तारुढ दल भित्रैबाट प्रश्न आउने गरेको गुनासो पनि गर्नुभयो । उहाँले सत्तारुढ गठबन्धनलाई कमजोर बनाउने कसरत भइरहेको उल्लेख गर्दै त्यसका विरुद्ध सशक्त ढंगले लाग्न पनि पार्टीको युवा संगठन वाईसीएलका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।








