उत्तर कोरियाले आफ्ना लागि छुट्याइएको कोभिड-१९ विरुद्धको खोप लिन अस्वीकार गरेको छ। कोभ्याक्स सुविधा मार्फत् उत्तर कोरियाका लागि पठाउन लागिएको चिनियाँ खोप लिन उसले अस्वीकार गरेको युनिसेफले जनाएको छ।
उत्तर कोरियाको जनस्वास्थ्य मन्त्रालयले २.९७ मिलियन डोज भ्याक्सिन कोभिड-१९ बाट अति प्रभावित देशहरुका लागि छुट्याइयोस् भनेर पत्र पठाएको थियो। उसले खोपको विश्वव्यापी आपूर्ति सीमित भएको भन्दै अति आवश्यक परेका देशलाई आफ्ना लागि छुट्याएको खोप उपलब्ध गराउन आग्रह गरेको युनिसेफका प्रवक्ताले भीओए कोरियालाई जानकारी दिएका छन्।
कोभ्याक्स कोभिड(१९ विरुद्धको खोप वितरण गर्ने अन्तर्राष्ट्रिय कार्यक्रम हो। यसले अति कम विकसित देशहरुमा खोप अनुदानमा उपलब्ध गराउँदै आएको छ। सो खोप युनिसेफले वितरण गर्दै आएको छ।
‘जनस्वास्थ्य मन्त्रालयले आगामी महिनाहरुमा कोभ्याक्स सुविधा मार्फत् खोपको लिने विषयमा कोभ्याक्ससँग सम्पर्क गर्ने समेत बताएको छ,’ युनिसेफका प्रवक्ताले भनेका छन्।
प्योङयाङमा हालसम्म कुनै पनि कोभिड-१९ को संक्रमण पुष्टि भएको छैन। डब्लुएचओलाई उत्तर कोरियाले बुझाएको तथ्यांक अनुसार हालसम्म त्यहाँ ३७ हजार २९१ परीक्षण भएको छ। अगस्ट १९ सम्मको यो परीक्षणका क्रममा सबै नतिजा नेगेटिभ आएको उल्लेख छ।
यद्यपि, उक्त संख्यामा आशंका समेत व्यक्त हुँदै आएको छ। उत्तर कोरियाले भाइरसविरुद्ध कडा मापदण्ड लागू गर्दै सीमा बन्द र आन्तरिक यात्रमासमेत प्रतिबन्ध गरेको छ।










