काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी नफुटेर चोइटिएको मात्र दाबी गरेका छन्। शनिवार काठमाडौंमा आयोजित कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीबाट केही ‘बिग्रिएका मानिस’मात्र बाहिरिएकाले यसलाई पार्टी फुटेको भन्न नमिल्ने दाबी गरेका हुन्।
‘अहिले पनि पार्टी बास्तवमा फुटेको होइन। केही बिग्रिएका तत्वहरु, धेरै वर्ष अघिदेखि बिग्रिएका थिए। जहिले पनि पार्टीमा झमेला, जहिले पनि समस्या। त्यस्ता तत्वहरु केही गएका हुन्। जसलाई चोइटिएको मात्र भन्न सकिन्छ,’ अध्यक्ष ओलीले भने।
माधव नेपाल समूहले स्वार्थका लागि नयाँ पार्टी खोलेको समेत ओलीको आरोप थियो। भारतमा लंगुर र नेपालमा भुएँ भन्ने शब्द प्रयोग गर्दै ओलीले खान पायो कि त्यतै लाग्नेहरु भन्दै नेपाल समूहका नेता कार्यकर्तालाई व्यङ्ग्य गरे। ‘भुएँ लागेपछि यिनीहरु खान दौडिएका। अरु केही पनि होइन। अहिलेको सरकार भनेको यही लंगुरमा दौडिने सरकार हो,’ ओलीले भने।
अहिलेको सरकारको कुनै विचार र उद्देश्य समेत नमिल्ने ओलीको दावी थियो।
आज ओली बिरामी भएका कारण कुनै पनि कार्यक्रमा सहभागी नहुने उनका प्रेस संयोजकले जानकारी दिएको भए पनि उनी कार्यक्रममा सहभागी भए। अलि बढी काम र थकाइले जोराम्स भएको सुरुमै बताएका थिए नउले। तर, कति बिरामी भएको भन्ने तस्बिर आफैं बोल्छ भने झै बोलोस् भनेर उपस्थित हुन आएको समेत बताएका थिए।








