सागर वि.क. (वैखरी अनलाईन) : नेपाल तरुण दल र नेविसंघ कपिलवस्तुले बिपी कोइरालाको १०८औँ जन्मजयन्ती तथा तीज पर्वको अवसरमा विपन्न परिवारलाई सहयोग प्रदान गरेको छ । नेपाली कांग्रेसका यी दुई भातृ संगठनले बाणगंगा १ बुङची निवासी रामप्रसाद थारुको परिवारलाई खाद्यान्न तथा शैक्षिक सामग्री सहयोग गरेको हो ।
केही महिना अगाडि रुखबाट खसेर शारिरीक अशक्त भएका थारुको परिवारलाई चामल, नुन, तेल, पिठो, साबुन, सरफ, चवनप्रास, झोला, कापी, कलमसंगै आर्थिक सहयोग गरिएको नेविसंघका क्षेत्रीय सभापति चन्द्रकान्त पोखरेलले जानकारी दिनुभयो ।
थारु रुखबाट खसेपछि उहाँको परिवारमा संकट पर्दै आएको छ । थारुको परिवारलाई सहयोग प्रदान गर्न कांग्रेस नेता सुर्य बरालले विशेष सहयोग गर्नुभएको थियो । थारुको परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर र दैनिक जीविका चलाउन समेत गाह्रो भएको थाहा पाएपछि आफुहरु सहयोगका लागी अघि बढेको तरुण दल कपिलवस्तुका अध्यक्ष शक्ति सिंह ठकुरीले बताउनुभयो । आफुहरुको सहयोगले परिवारलाई केही राहत महसुस होस् र बालबालिकाको पनि शैक्षिक पक्षमा केही सहयोग मिलोस् भन्ने उद्देश्यले सहयोग गरेको उहाँले बताउनुभयो ।
यस्तै नेविसंघका क्षेत्रीय सभापति चन्द्रकान्त पोखरेलले आफुहरु सदैव गरिब विपन्नहरुको साहारा बन्दै अगाडि बढ्ने बताउनुभयो । विगतमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिदैं जाने उहाँको भनाई छ ।
सहयोग प्राप्त भएपछि थारुले सम्पूर्ण सहयोगी मनलाई धन्यवाद दिदै खुशी व्यक्त गर्नुभयो । कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष गणेश बहादुर क्षेत्री, तरुण दल क्षेत्र १ का अध्यक्ष तिलक थापा, युवा नेताहरु दिनेस क्षेत्री, ईश्वर थापा, सरोज सेन लगायतको उपस्थिति रहेको थियो ।