गृहपृष्ठ खबर मेलम्चीको पानी चैतभित्र ल्याउने लक्ष्य

मेलम्चीको पानी चैतभित्र ल्याउने लक्ष्य

काठमाडौँ : सरकारले मेलम्ची खानेपानी आयोजनाको काम चैत मसान्तभित्र सम्पन्न गरी खानेपानी नियमित आपूर्ति गर्ने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आवश्यक मर्मत तथा पुनःस्थापन गरी पानी आपूर्ति गर्ने प्रतिस्थापन बजेटमार्फत घोषणा गरेका हुन् ।

गत असारमा मेलम्चीमा आएको बाढीले अम्बाथानस्थित हेडवर्क्सलगायतमा क्षति पुर्‍याउनुका साथै करिब ८ किमि सडक संरचना बगाउँदा आयोजना अवरुद्ध छ । मेलम्ची बजारदेखि हेडवर्क्ससम्मको करिब २१ किमिमध्येको ८ किमि सडक बगाउँदा गाडी सञ्चालन हुन सकेका छैनन् । दुई पटकको बाढीले २ अर्ब ४५ करोड रुपैयाँको क्षति पुगेको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिए ।

यसअघिको सरकारले ३ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । पन्तका अनुसार मेलम्ची आयोजना (पहिलो चरण) का लागि ५७ करोड र याङ्ग्री, लार्के (दोस्रो चरण) का लागि २ अर्ब ९३ करोड रुपैयाँ विनियोजन गरिएको थियो । बाढीले पहिलो चरणको आयोजनामा क्षति पुर्‍याएपछि याङ्ग्री र लार्केको बजेट मेलम्चीमै गाभ्न सक्ने सम्भावना रहेको पन्तले बताए ।

सम्बन्धित् समाचार