म्यानमारमा विद्रोही पक्ष र सुरक्षा फौजबीच भएको झडपमा कम्तिमा २० जनाको मृत्यु भएको प्रत्यक्षदर्शी र म्यानमारका संचारमाध्यमले जनाएका छन्। विद्रोहीहरुले यही हप्ता सैन्य सरकारविरुद्ध ‘जनताको रक्षात्मक युद्ध’को घोषणा गरेपछिको यो पहिलो घातक हिंसा हो।
म्यानमारका अभियन्ता तथा सैन्य विरोधी विद्रोहीहरुले ‘सार्थक बाह्य हस्तक्षेप’को अभावले सशस्त्र प्रतिरोधलाई जन्म दिएको भन्दै शनिबार म्यानमारको सैन्य सरकारलाई कारबाही गर्न बाह्य समुदायसमक्ष आग्रह गरेका थिए।
यसलगत्तै पछिल्लो हिंसा भएको अलजजिराले जनाएको छ। भद्र अवज्ञा आन्दोलनले आइतबार बिहान जारी गरेको एक वक्तव्यमा भनेको छ, ‘म्यानमारका युवाहरुसँग आफूसँग जे छ त्यसकै सहारामा सैन्य सरकारविरुद्ध लड्नुको विकल्प छैन।’ यसले दक्षिण पूर्वी एसियाली राष्ट्रहरु तथा संयुक्त राष्ट्रसंघलाई म्यानमारको राष्ट्रिय एकता सरकार भनिएको छायाँ सरकारको पक्षबाट म्यानमारमा ‘प्रत्यक्ष संलग्न’ हुन पनि अपिल गरेको छ।