सागर वि.क.(वैखरी अनलाईन) : कपिलवस्तुमा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र विदेशी हस्तक्षेपविरुद्ध विरोध प्रदर्शन गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी कपिलवस्तुले आज बाणगंगाको चारनम्बरचोकमा विरोध प्रदर्शन गरेको हो । विरोध कार्यक्रमको शङख बजाएर उद्धघोष गर्नुभएका राप्रपाका क्षेत्रीय सभापति प्रकाश भूसालले शङख बजाएर नै कार्यक्रमको समापन गर्नुभएको थियो ।
विरोध कार्यक्रमलाई सम्बोधन राप्रपाका केन्द्रिय सदस्य धु्रब रायमाझीले एमसीसी र विदेशी हस्तक्षेप आम नेपाली नागरिकले कहिले पनि स्वीकार नगर्ने जिकीर गर्नुभयो । केन्द्रिय सदस्य रायमाझीले विगतमा पनि नेपाली नागरिकले धेरै बलिदानी दिएको र अब पनि आवश्यक पनि बलिदान दिन पछि नहट्ने बताउनुभयो । एमसीसी जस्ता राष्ट्रघाती सम्झौता संसदबाट पास गराउने चलखेल भएकाले त्यसो नगर्न प्रधानमन्त्री शेर बहादुर देउवालाई उहाँले चेतावनी दिनुभएको छ ।
विरोध सभामा बोल्दै क्षेत्रीय सभापति प्रकाश भूसालले (एमसीसी) नेपालको हितमा नभएको बताउदैं तत्काल खारेज हुनुपर्ने माग गर्नुभएको थियो । उहाँले यसका लागी सबै देशप्रेमी नेपालीले दबाब सिर्जना गर्नुपर्ने बताउनुभयो ।
‘एमसीसी चाहिदैन्, देश बेच्न पाईदैन्’, ‘विदेशी हस्तक्षेप बन्द गर्’, ‘भष्टचारीलाई कारबाही गर्’ लगायतका नारा लगाउदै गरिएको विरोध कार्यक्रम नवराज घिमिरेको संचालनमा सम्पन्न भएको थियो । पछिल्लो समय कपिलवस्तुसहित देशभर नै एमसीसी विरुद्ध दैनिक जसो प्रदर्शन हुदै आएका छन् ।