काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले ‘सबैका लागि सहज पहुँच र गुणस्तरीय शिक्षा’ प्राप्त पर्ने सरकारको अभियानमा साथ दिन सम्बन्धित सबै पक्षलाई आह्वान गर्नु भएको छ ।
प्रधानमन्त्री देउवाले सामूदायिक विद्यालयहरुको शिक्षामा गुणस्तर अभिवृद्धिका लागि सरकारले विभिन्न शैक्षिक कार्यक्रमहरु संचालन गरिरहेको पनि बताउनु भयो ।
जापान सरकारको सहयोगमा निर्माण गरिएको ललितपुरस्थित नमुना मच्छिन्द्र माध्यामिक विद्यालय भवनको बुधबार एक कार्यक्रममा बीच उद्घाटन गर्दै उहाँले विद्यालय शिक्षा स्थानीय तहको मुख्य जिम्मेवारीमा रहेपनि संघीय सरकारले त्यसका लागि आवश्यक स्रोत, साधन र शिक्षा विकास व्यवस्थापनमा सक्दो सहयोग गरिरहेको पनि स्मरण गराउनुभयो ।
प्रधानमन्त्री देउवाले २०७२ सालको विनाशकारी भूकम्पले ध्वस्त बनाएका विद्यालयहरुको भौतिक पूर्वाधार निर्माणको काम सकिने अवस्थामा पुगेको उल्लेख गर्दै अवको सम्पूर्ण ध्यान त्यहाँको गुणस्तरीय शिक्षामै केन्द्रित हुने विश्वास समेत व्यक्त गर्नुभयो ।








