काठमाडौं : नेकपा (एमाले)ले लामो तयारीपछि ल्याइएको प्रतिस्थापन विधेयकले बजेटरी सिद्धान्त र वित्तीय अनुशासनलाई समेत उल्लंघन गरेको बताएको छ। एमाले महासचिव ईश्वर पोखरेलले एक विज्ञप्ति जारी गर्दै त्यसले विकास बजेटमा कटौती गर्ने र अनुत्पादक क्षेत्रमा खर्च बृद्धि गर्ने गलत बाटो अवलम्बन गरेको बताएका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘सन्तुलित विकासको अवधारणाअनुरुप प्रतिनिधिसभाका सदस्यहरूको आग्रहमा अघि बढाएको निर्वाचन क्षेत्रस्तरीय रणनीतिक सडक र पालिका जोड्ने पहुँच मार्गलगायतका १४०० भन्दा बढी विकास आयोजना कटौती गर्नपुगेको छ। साथै, सरकारले अनिवार्य दायित्वभित्र पर्ने वित्त व्यवस्थापनको बजेट कटौती गर्ने गैरजिम्मेवारपूर्ण काम गरेको छ। नेकपा ९एमाले० बजेटजस्तो संवेदनशील विषयमा सरकारको उदासिनता र गैरजिम्मेवार रवैयाप्रति खेद व्यक्त गर्दछ।’
सरकारले प्रतिनिधिसभा बैठक शुरु भएपछि बजेट पारित गर्ने कुरालाई महत्व नदिई सत्तास्वार्थमा अल्मलिँदा सरकारी खर्च व्यवस्थापनमा गम्भीर संकट उत्पन्न भएको एमालेको आरोप छ।
‘बजेट पारित गर्ने प्रमुख दायित्व रहने वर्षे अधिवेशन, बजेट अध्यादेश अलपत्र पारेर हठात अन्त्य गरियो,’ विज्ञप्तिमा उल्लेख छ।
सरकारले प्रतिपक्षको अवरोधका कारणले बजेट समयमा पारित नभएको जस्तो गरी भ्रम सिर्जना गरिरहेको एमालेले आरोप लगाएको छ। प्रतिनिधिसभाको बैठक शुरु भएको लामो समयसम्म सरकारका लागि बजेट प्राथमिकताको विषय नै नबनेको बताइएको छ।
एमालेले प्रमुख प्रतिपक्षीका जायज मागलाई सम्बोधन गरी प्रतिनिधिसभालाई सञ्चालन गर्न सरकार र प्रतिनिधिसभाका सभामुखको ध्यानाकर्षण गराएको छ।