इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा चेन्नइ सुपर किंग्सले मुम्बई इण्डियन्समाथि रोमाञ्चक जित निकालेको छ। दुबई इन्टरनेशनल स्टेडियममा सम्पन्न खेलमा चेन्नइले २० रनको जित निकालेको हो।
कोभिड १९ को महामारीका कारण बीचमा १४० दिनसम्म स्थगित भएर फेरि सुरु प्रतियोगितामा चेन्नइलाई जित दिलाउन रुतुराज गाइक्वाडले अर्धशतकीय पारी खेले।
टस जितेर ब्याटिङमा उत्रिएको चेन्नइका लागि उनले ५८ बलमा ८८ रन बनाउँदा चेन्नइले ६ विकेटको क्षतिमा १५६ रन बनाउन सकेको थियो। उनीबाहेक रवीन्द्र जडेजाले २६ र ड्वाने ब्राभोले २३ रन बनाए।
बलिङतर्फ मुम्बईका ट्रेन्ट बोल्ट, जसप्रित बुमराह र एडम मिलनेले समान २र२ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको मुम्बइ १३६ रनमा समेटियो। मुम्बईका लागि सौरभ तिवारीले अभिजित रहँदै अर्धशतक बनाउँदा क्विन्टन डिककले १७, अमोलप्रीत सिंहले १६ तथा किइरन पोलार्ड र एडम मिलनेले समान १५र१५ रन बनाए।
मुम्बईलाई लक्ष्यसम्म पुग्न नदिन चेन्नइका ड्वाने ब्राभोले सर्वाधिक ३ विकेट लिँदा दीपक चहारले २ विकेट लिए। त्यस्तै जोस हेजलवुड र सार्दुल ठाकुरले समान १र१ विकेट लिए।
जितसँगै ८ खेलबाट १२ अंक जोडेर चेन्नइ अंकतालिकाको शीर्षस्थानमा छ।








