काठमाडौं : नेपाली कांग्रेसले १४औँ महाधिवेशनका लागि थप तीन जिल्लाका क्रियाशील सदस्यताको अन्तिम नामावली सूची सार्वजनिक गरेको छ। पार्टीले मङ्गलबार राति धनुषा, सर्लाही र कैलालीको क्रियाशील सदस्यताको अन्तिम नामावली सार्वजनिक गरेको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए।
अब रसुवा, पर्सा, रौतहट, बारा र सप्तरी गरी पाँच जिल्लाको मात्र क्रियाशील सदस्यता नामावली सार्वजनिक गर्न बाँकी छ। कांग्रेसले यसअघि क्रियाशील सदस्यताको विवरण सार्वजनिक भएका जिल्लामा वडा अधिवेशन सम्पन्न गरी ती जिल्लामा गत शनिबारदेखि गाउँरनगर अधिवेशन प्रारम्भ गरिसकेको छ।
हालसम्म १३ जिल्लामा वडा अधिवेशन गर्न बाँकी रहेको र ती सबै जिल्लाको क्रियाशील सदस्यताको सूची प्राप्त हुनासाथ एकै दिन वडा अधिवेशन प्रारम्भ गरिने यादवले बताए। करिब नौ लाखको सङ्ख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको वडा अधिवेशनका मतदाता हुन्। क्रियाशील सदस्यले आफ्नो वडाको वडासमिति र क्षेत्रीय प्रतिनिधि चयन गर्छन्।