काठमाडौं : स्नातक तह उत्तीर्ण गरेकी प्यालेस्टाइनकी एक ८५ वर्षीया वृद्धा महिला दीक्षित भएकी छन्। इस्लामिक कानुनमा स्नातक तह पूरा गरेकी ८५ वर्षीया जिहाद बुट्टु बिहीबार दीक्षित भएकी हुन्।
सन् १९३६ मा प्यालेस्टाइनको वेस्ट बैंक शहरको नाब्लुसमा जन्मिएकी जिहादले सन् १९४८ मा आफ्नो माध्यामिक तहको पढाई पुरा गरेकी थिइन्।
सन् १९५४ मा विवाह गरेकी जिहादका पाँच सन्तान छन्। गृहस्थीमा व्यस्त उनले पढाईप्रतिको आफ्नो रुचीलाई भने कहिल्यै मर्न दिइनन्। ७० वर्षको उमेरमा उनी आफ्नो पढाईमा फर्किइन्। घरायसी काम र सन्तानको रेखदेखको अलावा उनले अरविक, अंग्रेजी र हिब्रु गरी विभिन्न तीनवटा भाषा सिकेको स्थानिय मिडिया प्यालेस्टाइन क्रोनिकलमा समाचार छ।
प्यालेस्टाइन क्रोनिकलका अनुसार ८१ वर्षको उमेरमा उच्च शिक्षाको लागि आईएसआरए एकेडेमीमा भर्ना भएकी उनले मानविकी संकायअन्तर्गत इस्लामिक कानुन विषय अध्ययन गरिन्। उनले पाँच वर्षको अन्तरालमा अर्थात् ८५ वर्षको उमेरमा स्नातक तह पूरा गरिन्।
‘मैले पढाईको लागि ठुलो मेहेनत गरे। दिउँसो व्यस्त भएपनि रातभर पढ्न थाले’ दिक्षान्त समारोहमा ८५ वर्षीया जिहादले भनेकी छन्, ‘मैले ग्रहण गरेको ज्ञान मैले अरुलाई पनि बाड्नेछु। आफूले सिकेको ज्ञान अरुलाई पनि सिकाउन चाहन्छु।’