काठमाडौं : साफ च्याम्पियनसिप फुटबलले दक्षिण एसियाली राष्ट्रमा विशेष अर्थ राख्दछ। यो फुटबलका लागि यस क्षेत्रको सर्वाधिक ठूलो प्रतियोगिता पनि हो। सन् १९९३ मा सार्क गोल्डको नामबाट सुरु भएको च्याम्पियनसिपले २८ वर्ष पार गरिसकेको छ।
दक्षिण एसियाली फुटबल (साफ) को आयोजनामा हुँदै आएको च्याम्पियनसिपमा नेपालले भने अहिलेसम्म उपाधि जित्न सकेको छैन। माल्दिभ्समा जारी १३औं संस्करणमा भने नेपालका सामु इतिहास रच्ने अवसर आएको छ।
साफ च्याम्पियनसिपको इतिहासमा पहिलो पटक फाइनल पुगेको नेपालले आज राति माल्दिभ्सको राजधानी मालेमा भारतविरुद्ध उपाधिका लागि खेल्दैछ। तर, भारतविरुद्ध मैदान उत्रँदा नेपाललाई स्वभाविक रुपमा दबाबमा हुनेछ।
साफ च्याम्पियनसिपको इतिहासमा भारतले छुट्टै इतिहास बनाएको छ। साफका हरेक संस्करणमा दबदबा बनाएको भारतले कीर्तिमानी सात पटक उपाधि जितिसकेको छ।
साफ च्याम्पियनसिपमा नेपालको अहिलेसम्मकै सबैभन्दा राम्रो प्रदर्शन तेस्रो स्थान हासिल गर्नु हो। सन् १९९३ को पहिलो संस्करणमा नेपालले तेस्रो स्थान हासिल गरेको थियो। राउन्ड रोबिनको आधारमा भएको प्रतियोगितामा भारत र श्रीलंकापछि नेपाल तेस्रो स्थानमा रहेको थियो।
२८ वर्षको खडेरी तोड्दै नेपालले यस पटक फाइनलमा स्थान बनाइसकेको छ। अब नेपालले अर्को सुनौलो इतिहास रच्न एक खुड्किलो बाँकी छ। त्यसका लागि आज साँझ भारतको चुनौतीलाई पन्छाउनु पर्नेछ। नेपालले भारतलाई हराउन सकेमा पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि जित्नेछ। जुन नेपाली फुटबलका लागि पनि ऐतिहासिक दिन सावित हुनेछ। भारतविरुद्ध नेपालले अहिलेसम्म २२ खेल खेलेको छ।
जसमा भारतले एकपक्षीय नतिजा निकालेको छ। नेपालविरुद्ध भारतले १५ खेल जितेको छ भने नेपालले दुई खेल जित्दा पाँच खेल बराबरी गरेको छ।








