नारद कोहार (तौलिहवा) : कपिलवस्तुमा अहिले कृषकहरुलाई धानबाली काट्ने चटारोले भ्याइनभ्याई छ । लामो समयदेखि हसियाँले धान काटेर भित्र्याउने किसानहरु अब भने नयाँ प्रविधितर्फ आर्कषित हुन थालेका छन् । थोरै समयमा प्रसस्त क्षेत्रफलको धान काट्न सकिने भएपछि कृषकहरुले कम्बाईन हार्भेष्टरतर्फ आर्कषित भएका छन् । नयाँ यान्त्रिक प्रविधि कम्बाईन हार्भेष्टरले धान भित्र्याउँदा समय, श्रम र लागतमा बचत हुने भएकाले यसतर्फ किसानहरु आकषिर्त भएका हुन् । धान काट्ने, केलाउने र परालको व्यवस्थापन एकैपटक गर्ने भएकाले यस क्षेत्रमा यो प्रविधिको प्रयोगमा उल्लेखनीय वृद्धि भएको छ ।
मजदुरहरुको समस्याबाट पीडित हुने गरेका यस भेगका किसानले समयमा धान भित्र्याउन नसक्दा थप नोक्सानी व्यहोरिरहेका थिए । कम्बाइनको प्रयोगले यो समस्याको निराकरण गर्ने भएकाले यसको प्रयोगमा आफूहरु उत्साहित भएको कपिलबस्तु नगरपालिका ११ परसियाका कृषक विरेन्द्र कुमार नागबंशीले बताउनुभयो । अहिले गाउँमै कम्वाइन हार्भेष्टर मेसिन भित्रिएपछि कम लागतमा समयमै कृषि कार्य गर्न सजिलो भएको कपिलबस्तु नगरपालिका ६ थुम्हवाका किसान जनर्दन यादवले बताउनुभयो ।
भाडामा लिएर गत वर्ष करिब ३ बिगाहा क्षेत्रफलमा यो मेसिनको प्रयोगले धान भित्रयाउन पाउँदा परम्परागत तरिकाभन्दा झन्डै २५ प्रतिशत लागतमा कमी आएको उहाँको भनाई छ । परम्परागत तरिकाले धान भित्रयाउँदा प्रति बिघा १८ देखि २० हजार खर्च लाग्ने गरेकामा कम्वाइन हार्भेष्टर मेसिनवाट धान भित्र्याउँदा प्रति बिघा पाँच हजारमात्र खर्च लाग्ने गरेको उहाँले बताउनुभयो । पछिल्लो समयमा तराईका जिल्लाहरुमा कम्वाइन हार्भेष्टर मेसिन बहुउपयोगी भएपछि यसप्रति कृषकको आकषर्ण बढ्दै गएको कृषि ज्ञान केन्द्र कपिलबस्तुले जनाएको छ ।
अहिले कपिलवस्तु जिल्लामा २ दर्जन भन्दा बढी कम्वाइन हार्भेष्टर मेसिनको प्रयोग हुने गरेको अनुमान कृषि ज्ञान केन्द्रका प्रमुख डा.रविन्द्रनाथ चौवेले बताउनुभयो । जिल्लाको कुल ८३ हजार हेक्टर खेती योग्य जमिन मध्ये यस वर्ष कपिलवस्तुमा ७२ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ ।








