कपिलवस्तु : धान भित्र्याएर गहुँ खेती गर्ने तरखर शुरु भएका बेला कपिलबस्तुमा भने मलखादको अभाव भएको छ । जिल्लाका कृषकहरुले भारतीय मलको भरमा खेती गर्दै आएका छन् । अनुदानको मल धान खेती गर्ने समयमा नपाएका कपिलवस्तुका किसानले गहुँ खेती गर्ने बेला पनि डिएपी मल पाउने टुङ्गो छैन ।
जिल्लामा कृषि सहकारी संस्थाहरुमार्फत अनुदानको मल विक्री वितरण हुँदै आएको छ । मलको लागि आफुहरुलाई धेरै नै समस्या परेको र नेपालमा दुई हजार दुई सयमा पाइने मल भारतबाट दुई हजार आठ सयमा किनेर ल्याएको कृषक जर्नादन यादवले बताउनुभयो । अहिले जिल्लामा डिएपी मलको अभाव रहेको कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख डा.रवीन्द्र चौवेले बताउनुभयो ।
अबको एक हप्ताभित्र डिएपी मल आउने उहाँले विश्वास व्यक्त गर्नुभएको छ । युरीया मल चहिने बेलामा डीएपी र डीएपी चहिने बेलामा युरीया मल आउने गरेको कृषक हरिचन्द्र बरईको गुनोसो गरेका छन् । जिल्लामा गहुँ खेतीको लागि पाँच हजार मेट्रिक टन युरिया र डिएपी लाग्ने गरेको छ ।
जिल्लामा वार्षिक २० हजार मेट्रिक टन युरिया र १५ हजार मेट्रिक टन डिएपी मल खपत हुने गर्छ । बर्षेनी कपिलबस्तुमा किसानले भारतबाट आयात गरिने मलखाद चर्को मूल्यमा खरिद गर्नुपर्ने बाध्यता रहेको छ ।








