बुटवल : पश्चिम पहाडको मुख्य बजार बुटवलको सडक अहिले धुलो र खाल्डाखुल्डीका कारण हिँड्नै मुस्किल पर्ने भएका छन् । पानी परे हिलाम्मे, घाम लागे धुलाम्मे हुने भएका कारण सडक वरपर व्यापार गरेर बस्नेहरुलाई पनि सास्ति भएको छ ।
‘धुलोले सडकमा हिँड्न नसक्ने मात्र होइन छेउछाउका घरसमेत बसिनसक्ने भए,’ ट्राफिकचोकका कमलराज उदयले भने, ‘कसैगरी बच्न सकिएन । घरको भान्सासम्मै धुलो पुग्छ ।’ धुलोले परिवार नै रुवाखोकी र एलर्जीबाट ग्रसित भएको उनले दुखेसो समेत पोखे ।
विस्तार थालिएको बुटवलको मुख्य सडक राजमार्ग चौराहदेखि चिडियाखोलासम्मको सडकको दुरी करिब साढे ३ किलोमिटर छ । जुन, पूर्व-पश्चिम महेन्द्र राजमार्ग र उत्तर दक्षिण सिद्धार्थ राजमार्ग दुवैमा पर्छ । सडकभरि खाल्डाखुल्डी छन् । जसमा सवारीका साधन हुत्तिने, उछिट्टने र गुल्टिने भइरहन्छन् ।
सवारी कतिबेला कहाँ दुर्घटनामा पर्छन् टुंगो नै छैन । घर भत्काएपछिका सामाग्रीहरु पनि बाटोभरी असरल्ल छन् । भत्काएर लथालिंग पारिएको सडकमा पैदलयात्री हिँड्ने ठाउँ नै छैन । पैदलयात्री हिँड्ने क्षेत्रमा खाल्डा छन् । पैदल यात्री गाडी गुड्ने व्यस्त सडकबाटै हिँड्न बाध्य छन् ।
सडकको दुरावस्थाकै कारण सवारी दुर्घटना हुनेक्रम पनि बढेको छ । दैनिक साना ठूला १० वटा दुर्घटना हुने प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ ।
राजमार्ग भत्काएर बजारसँगको सम्बन्ध छुटाइएको छ । यही कारण आसपासमा रहेका पसल र व्यापारिक प्रतिष्ठानमा समेत सहजै ग्राहक जान सक्दैनन् । यसले व्यापार घटेको र विस्थापित हुने अवस्था सिर्जना गरेको व्यापारीहरुको गुनासो छ ।








