सागर वि.क.(वैखरी अनलाईन) : कपिलवस्तु डोरीतान संघको बैठक विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ । संघको बैठक शनिवार(आज) बुद्धभूमि नगरपालिका वडा नं.२ गोरुसिङ्गेमा सम्पन्न भएको हो । बैठकले दोस्रो कपिलवस्तु जिल्ला डोरीतान प्रतियोगिता सम्पन्न गर्न यही मंसिर २५ गतेभित्र पालिका स्तरिय छनोट प्रक्रिया पुरा गरि पौष २ गते जिल्ला स्तरिय डोरीतान प्रतियोगिता कृष्णनगर नगरपालिकामा संचालन गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले जिल्लाका १० वटै पालिकामा गठन भएका तदर्थ समितिलाई यही माघ मसान्तभित्र अधिवेशन सम्पन्न गरि बैधानिक समिति गठन गर्ने निर्णय गरेको संघका अध्यक्ष मिनराज बेल्वासले जानकारी दिनुभयो । अध्यक्ष बेल्वासका अनुसार पौष २ गते हुने दोस्रो जिल्ला स्तरिय डोरीतान प्रतियोगितामा गुडविल फ्रेडेसी म्याचको लागी छिमेकी मुलुक भारतबाट महिला र पुरुषको १÷१ टिम सहभागि गराउनका लागी निमन्त्रणा प्रदान गर्ने बैठकले निर्णय गरेको छ । यस्तै बैठकले दोस्रो कपिलवस्तु जिल्ला डोरीतान प्रतियोगिता संचालन गर्न मिनराज बेल्वासेसहितको ९ सदस्यीय सचिवालय समिति गठन गरेको छ ।
कपिलवस्तु डोरीतान संघमा आवद्ध जिल्ला सदस्य दिपक कुमार पाण्डे र शुद्धोधन गाउँपालिकाका खेलाडी माया पाण्डेको असामायिक निधन भएकोमा संघले हार्दिक श्रदाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदन प्रकट गरेको छ । दोस्रो कपिलवस्तु जिल्ला डोरीतान प्रतियोगिता संचालन गर्न आवश्यक पर्ने अनुमानित बजेट ४ लाख ८० हजार रुपैयाँ बैठकले पारित गरेको लुम्बिनी प्रदेश डोरीतान संघका सदस्य रोमबहादुर थापाले जानकारी दिनुभएको छ ।
बैठक कपिलवस्तु डोरीतान संघका अध्यक्ष मिनराज बेल्वासेको अध्यक्षता, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्याम सुन्दर शाक्यको प्रमुख आतिथ्यता र लुम्बिनी प्रदेश डोरीतान संघका सदस्य रोमबहादुर थापाको विशिष्ट आतिथ्यितामा सम्पन्न भएको हो ।








