गृहपृष्ठ Featured प्रचण्ड भन्छन्- म प्रधानमन्त्री होइन, तर प्रधानमन्त्री भन्दा कम छैन

प्रचण्ड भन्छन्- म प्रधानमन्त्री होइन, तर प्रधानमन्त्री भन्दा कम छैन

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको परिवर्तनको एजेण्डा माओवादीले बोकेको दाबी गरेका छन्। बुधवार कैलालीमा भएको एक कार्यक्रममा उनले जनताको अगाडि प्रतिक्रियावादी झुक्दै संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता मान्न बाध्य भएको दाबी समेत गरे।

‘आन्दोलनको आँधीबेहरी आएपछि बाध्य भएर संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतामा आएकाहरु फेरी सल्बलाउन थालेका छन्। पोहोर साल थाहा पाइ हाल्नुभयो संविधान नै उल्ट्याउने प्रयास भएको’ प्रचण्डले भने।

उनले राष्ट्रिय एकता कायम नभएसम्म आफूहरुको लडाइँ जारी रहने बताउँदै भने, ‘अब हामी शान्तिपूर्ण तरिकाले आवश्यक संविधान संशोधन गरेर अगाडि बढिनेछौं। माओवादी केन्द्र बलियो भयो भने राष्ट्रले निकास पाउँछ। माओवादी केन्द्र कमजोर भयो भने पाएका उपलब्धी पनि गुम्छन्।’

प्रचण्डले माओवादीलाई मधेसी तथा थारुहरु माझ खुइल्याउने प्रयास भइरहेको आरोप समेत लगाए।

‘जनताको पक्षमा प्रचण्डले बोले भने केपी ओलीले सुन्न नचाहने। त्यसैले त बालकोट पुगेनी,’ उनले भने, ‘अहिले त्यस्तो छैन। हुन त प्रधानमन्त्री त म होइन्। तर, प्रधानमन्त्री भन्दा कम पनि छैन। अर्थमन्त्रालय हामीसँगै छ। भूमि समस्या समाधान गर्ने मन्त्रालय हामीसँग छ। युवाहरुको रोजगारी खेलकुदको समस्या समाधान गर्ने मन्त्रालय पनि हामीसँग छ। यसपाली केपी ओलीको जस्तो हुँदैन।’

सम्बन्धित् समाचार