चितवन : प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्न चितवन जाँदैछन्। नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा अहिले केहिबेरमा हेलिकोप्टरमार्फत चितवन महाधिवेशनलाई सम्बोधन गर्न जान लागेका हुन्।
महाधिवेशन शुक्रबारदेखि आइतबारसम्म हुँदैछ। महाधिवेशनको उद्घाटन सत्रमा पाँच लाख नेता कार्यकर्ता सहभागी हुने पार्टीले जनाएको छ। महाधिवेशन उद्घाटनसत्रका लागि नारायणी नदी किनारलाई झकिझकाउ बनाइएको छ।
भव्य मञ्चले नारायणी नदीको स्वरूप फेरिएको छ। एमालेका झन्डा, ब्यानर र बोर्डहरूले नदी किनार भरिभराउ छ। नेता कार्यकर्ताको चहलपहल बढ्दै गएको छ। विभिन्न जिल्लाबाट रातको समयमा पनि चितवन नेता कार्यकर्ता आइरहेका छन्।
चितवनका राजमार्ग तथा महाधिवेशन स्थल र बन्दसत्र हुने स्थानलाई सिँगारिएको छ। करिब ५ सय जना अट्ने आकर्षक मञ्च बनाइएको छ। नेपालमा कम्युनिष्ट पार्टीको स्थापना भएको ७२ वर्ष पुगेको उपलक्ष्यमा ७२ जना कलाकारले एकै साथ प्रस्तुति दिने कार्यक्रम छ।