कपिलवस्तु : कपिलवस्तु क्षेत्र नं. ३ मा नातिनी कांग्रेस महाधिवेशन प्रतिनिधिमा र हजुरबुबा क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन् । निर्वाचित हुनेमा १९ वर्षीया सूचना मिश्रा र उनका हजुरबुबा ६५ वर्षीय बह्मानन्द उपाध्याय छन् ।
बह्मानन्द क्षेत्र नं. ३ को क्षेत्रीय सभापतिमा पनि विजयी भए । राजनीतिमा युवाको उपस्थितिले पार्टीसंगै सिंगो देशको रूपान्तरणका लागि सहयोग पुर्याउँछ । त्यसैले काठमाडौं तिनकुनेस्थित ट्रिनिटी इन्टरनेसनल कलेजमा ब्याचलर अफ सोसल वर्क पहिलो वर्षमा अध्ययनरत मिश्र गाउँ आएर प्रचार थालिन् । उम्मेदवारी दिइन् । ३१० मत पाएर विजयी भइन् । ‘मेरो रुचि नै सोसल वर्क हो,’ उनले भनिन्, ‘त्यसैले मलाई राजनीति बुझ्न सजिलो भयो ।’
‘मतदाताको भावना बुझेर अघि बढेँ । पहिलो पटकमै जिम्मेवारी पाए । अब कांग्रेस महाधिवेशनमा युवा नीति पारित गराएर युवाको एजेन्डा स्थापित गराउँन लाग्छु,’ उनले भनिन् । ‘अब राजनीतिसँगै समाजसेवा पनि थाल्छु । जनतालाई पार्टीमा परिवर्तन आएको आभाष दिन लाग्छु,’ उनले थपिन् ।
विवेक र क्षमता प्रयोग विकृति हटाई मुलुक परिवर्तन गर्ने लक्ष्य लिएर आफू राजनीतिमा आएको बताइन् । अग्रजले देखाएको मार्गलाई आत्मसात गर्दै लोकतान्त्रिक विधि पद्धतिअनुसार मुलुक परिवर्तन गर्न लाग्ने उनले थपिन् ।