कपिलवस्तु : कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ९ भलवाड स्थित कोईलीचौर साना किसान सामुदायिक वनले सामुदायिक वनको दिगो विकासका लागि वन सरसफाई अभियान संचालनमा ल्याएको छ । सोमबार वन पदाधिकारी सहित उपभोक्ताहरुको सहभागितामा वन क्षेत्र भित्रका झाडी सफाई गरी वनको दिगो विकासका कार्यक्रमलाई प्रभावकारी बनाउन सरसफाई अभियान सुरु गरिएको वनका कोषाध्यक्ष कुन्तामणी भुषालले बताउनुभयो ।
कोईली चौर सानाकिसान सामुदायिक वन कपिलवस्तु जिल्लाको सबैभन्दा पुरानो वन हो । जिल्लाकै सबैभन्दा ठूलो प्रजातिका विरुवा यसै वन क्षेत्र भित्र रहेका छन् । वनको सरसफाई अभियानका लागि हरेक वर्ष बजेट समेत निर्धारण गरि कार्यक्रमहरु संचालन गर्ने गरिएको वनका अध्यक्ष हरिराज घिमिरेले बताउनुभयो ।
सोमबार देखि सुरु भएको सरसफाई अभियान उपभोक्ताहरुका बिचमा समुहगत रुपमा संचालन गर्ने वन समितिले जनाएको छ । वनको सरसफाई कार्यमा सहभागि भएका उपभोक्ताहरुलाई वन समितिले निश्चित पारिश्रमिक समेत दिने गरेको छ ।








