काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का निवर्तमान अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले पार्टीलाई भजन मण्डली बनाउन आफूलाई हराइएको आरोप लगाएका छन्।
मंगलबार प्रेस वक्तव्य जारी गर्दै थापाले उक्त आरोप लगाएका हुन्। महाधिवेशनमा राजेन्द्र लिङदेनसँग पराजित भएका थापाले निर्वाचन परिणाम आएपछि आक्रोश व्यक्त गर्दै आएका छन्। आफ्नो पराजय हुनुमा थापाले राजदरबारलाई दोष दिँदै आएका छन्। मतदानमा लिङदेनले १६७ मतान्तरले थापालाई हराएका थिए।
उनले महाधिवेशनबाट निर्वाचित अध्यक्ष राजेन्द्र लिङदेन लगायत सम्पूर्ण पदाधिकारी र सदस्यहरूलाई बधाई तथा शुभकामना दिएका छन्।
महाधिवेशनले पार्टी एकताको पक्षमा सशक्त मार्गनिर्देशन गरेको पनि उनले स्वीकार गरेका छन्। उनले निर्वाचनमा निर्मल निवास र पूर्वराजाको हस्तक्षेप भएको भन्दै विरोध गरेका छन्।
केन्द्रीय पदाधिकारीको शपथग्रहणमा उपस्थित नभएका थापाले मंगलबार भने सहर्ष हार स्विकारेको उल्लेख गरेका छन्।
पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा हस्तक्षेप गरेको दाबी गर्दै राजसंस्थाप्रतिको आधारभूत मान्यतामाथि गम्भीर आघात पुगेको उनको भनाइ छ।
उनले राजावादीको दलमा हस्तक्षेप गर्नेले भोलि पुनःस्थापित भए के गर्लान् भन्दै संशय व्यक्त गरेका छन्। राजसंस्थाप्रति लाञ्छना लगाउँदै आफूसँग प्रमाण भएको दाबी गरे पनि उनले कुनै प्रमाण दिन सकेनन्।