गृहपृष्ठ Featured लुम्बिनी प्रदेश : ६ वटा क्षेत्रलाई सांस्कृतिक ग्राम बनाइँदै, ५ हजारले रोजगारी पाउने

लुम्बिनी प्रदेश : ६ वटा क्षेत्रलाई सांस्कृतिक ग्राम बनाइँदै, ५ हजारले रोजगारी पाउने

बुटवल : लुम्बिनी प्रदेशमा ६ वटा क्षेत्रलाई सांस्कृतिक ग्रामका रुपमा विकास गरिने भएको छ । जातजाति, सांस्कृतिक बाहुल्यता तथा पहिचानको आधारमा सांस्कृतिक ग्राम बनाइने लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालयले जनाएको छ । कहाँ र कस्तो बनाउने भन्ने बारेमा मन्त्रालयले विभिन्न स्थानमा पुगी छलफल पनि सुरु गरेको छ। केही समयपछि आ–आफ्नो जातजाति र संस्कृतिको संरक्षण भएको महसुस गर्ने पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले बताए ।

उनका अनुसार सांस्कृतिक ग्राम बनाएसँगै झण्डै ५ हजार बढीले रोजगारी पाउनेछन्। दाङमा थारू जातिको बाहुल्यता र इतिहास भएकाले थारूग्राम सांस्कृतिक ग्राम बन्ने समेत उनको भनाइ छ । यस्तै बाँके र बर्दियामा पनि थारूग्राम बनाइने उनले बताए । उनका अनुसार बर्दियाको नेशनल पार्कमा सबै जातजतिहरूको कला संस्कृति राखिनेछ । बर्दियाको भौराटप्पा, बाँकेको राप्ती सोनारी, दाङको घोराहीमा थारूग्राम र दंगीशरण गाउँपालिकाको चखौरामा रहेको थारू संग्रहालयको विकास गरिनेसमेत उनले बताए ।

यसैगरी, रुकुम र रोल्पालाई मगर ग्राम, प्युठान, गुल्मी, अर्घाखाँचीमा ब्राह्मण र क्षेत्रीहरूका कला संस्कृतिलाई संरक्षण गर्नको लागि जोड दिइएको समेत मन्त्री चौधरीले बताए । यस्तै, पाल्पामा मगर ग्राम र रूपन्देही, कपिलवस्तु नवलपरासीमा थारू र मधेशीहरूको मिसाएर सांस्कृतिक ग्राम बनाउन लागेको समेत उनले बताए ।

उनले प्रदेशका विभिन्न ठाउँमा बनाउन लागेको सांस्कृतिक ग्रामले संस्कृति र खानपान पनि संरक्षण पनि हुने र संस्कृतिलाई जोडेर यो वर्ष ५ हजार युवा र महिलाहरुले रोजगार दिने कार्यक्रमको लक्ष्य रहेको समेत बताए ।

सम्बन्धित् समाचार