बुटवल : लुम्बिनी प्रदेशका महत्वाकांक्षी नौवटा विकासे आयोजना अलपत्र परेका छन् । प्रदेश योजना आयोगले अगाडि सारेका योजना नयाँ सरकार गठनयता अलपत्र परेका हुन् । प्रदेश योजना आयोगले गतवर्ष बर्सेनि पहिरो गइरहने सिद्धबाबा क्षेत्रको डाँडा काटेर नमूना बस्ती निर्माण गर्नेदेखि लुम्बिनी प्रादेशिक अस्पताललाई अत्याधुनिक बनाउनेसम्मका योजना बनाएको थियो ।
अघिल्लो सरकार हटेर नयाँ सरकार बनेसँगै यी योजना कागजमै थन्किएका छन् । नौवटा मध्ये एउटा योजनाको काम अगाडि बढेपनि प्रगति अत्यन्तै निराशाजनक छ । आर्थिक वर्ष २०७७÷७८ मा प्रदेश योजना आयोगले अगाडि बढाएका विकासे योजनाका लागि नौ करोड २६ लाख रुपैयाँ विनियोजन गरेको थियो ।
नौवटा योजनामध्ये विद्युतीय बस सञ्चालन गर्ने र यसको सम्भाव्यता अध्ययनअघि बढाउने गरी योजना आयोगले कार्यक्रम तय गरेको थियो । यसका लागि पाँच लाख बजेटसमेत छुट्टयाइएको थियो । तर, विद्युतीय बस सञ्चालनका लागि सम्भाव्यता अध्ययन हालसम्म पनि सुरू भएको छैन ।








