गृहपृष्ठ Featured ए डिभिजन लिग : मच्छिन्द्रको जित, हिमालयन शेर्पा र पुलिस बराबरी

ए डिभिजन लिग : मच्छिन्द्रको जित, हिमालयन शेर्पा र पुलिस बराबरी

काठमाडौं : साविक विजेता मच्छिन्द्र फुटबल क्लबले जावलाखेल युथ क्लबविरुद्ध जित निकाल्दा दिनको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र हिमालयन शेर्पाले बराबरी खेल्दै अंक बाँडेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले जावलाखेल युथ क्लबविरुद्ध २–० को सहज जित निकाल्दै नेपाल पुलिस र हिमालयन शेर्पाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।

सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आज भएको दिनको दोस्रो खेलमा मच्छिन्द्रले दोस्रो जित निकालेको छ। जावलाखेल युथ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मछिन्द्रले दोस्रो जित निकालेको हो।

मछिन्द्रको जितमा रञ्जित धिमालले एक गोल गर्दा जावलाखेलका सीमान्त थापाले मच्छिन्द्रलाई उपहार गोल दिए। १४ औं मिनेटमा जावलाखेलका सीमान्त थापाले आत्मघाती गोल गरेपछि मच्छिन्द्रले सुरुआती अग्रता बनाएको थियो। छिरिङ गुरुङले क्रस गरेको बल सीमान्तलाई लाग्दै बल गोलमा परिणत भएको थियो।

अग्रता पाएपछि उच्च मनोबलका साथ खेलको मच्छिन्द्रले २१ औं मिनेटमा अग्रता दोब्बर बनायो। डिफेन्डर रञ्जित धिमालले फ्री किकमार्फत गोल गर्दै मच्छिन्द्रलाई २–० को अग्रता दिलाएका थिए। बाँकी सयममा जावलाखेल खेलमा फर्किन निकै प्रयास गरे पनि सफल हुन सकेन र मच्छिन्द्रले स्पष्ट जित निकाल्न सफल रह्यो।

जितसँगै मच्छिन्द्रले ३ खेलमा ७ अंक जोडेको छ। जावलाखेलको यो लगातार तेस्रो हार हो। १३ औं स्थानको जावलाखेलले अंक जोड्न सकेको छैन। खेलबाट मच्छिन्द्रका रञ्जित धिमाल म्यान अफ दि म्याच चुनिएर नगद १० हजार रुपैयाँ थाप्दा इमर्जिङ प्लेयर जावलाखेलका सीमान्त थापा चुनिए।

लिगअन्तर्गत दिनको पहिलो खेलमा पुलिसले पुनरागमनमा १–१ को बराबरी खेल्दै हिमालयन शेर्पा क्लबसँग अंक बाँडेको हो। बलियो मानिएको पुलिसविरुद्ध हिमालयनले पहिलो मिनेटमै अग्रता लिन सफल भएको थियो।

कप्तान विश्वास श्रेष्ठले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। मोइनुद्दीनको पासमा पेनाल्टी बक्सभन्दा बाहिरबाट गरेको प्रहार पुलिसका गोलकिपर शत्रुघ्न चौधरीले रोक्ने क्रममा गोलमा परिणत भएको थियो।

त्यसपछि दबाबमा परेको पुलिसका मानबहादुर परियारले १४ औं मिनेटमा गोलको अवसर गुमाउँदा बराबरी अवसर खेर गएको थियो।

४७ औं मिनेटमा पुलिसका अन्जन राईले गोलको अवसर गुमाए। दोस्रो हाफमा आक्रामक खेल पस्किएको पुलिसले ६० औं मिनेटमा बराबरी गोल फर्कायो।

सुमन लामाले गोल गर्दै पुलिसलाई १–१ गोलको बराबरीमा फर्काएका थिए। रवि पासवानको क्रसमा सिक्स यार्ड बक्समा अनमार्क रहेका सुमनले सहजै गोल गर्दा पुलिसले खेल बराबरीमा ल्याउन सफल भएको थियो।

त्यसपछि स्पष्ट अंकका लागि संघर्ष गरेको पुलिसले केही राम्रा अवसर सिर्जना गरे पनि सफल हुन सकेन र अंक बाँड्न बाध्य बन्यो।

सम्बन्धित् समाचार