गृहपृष्ठ Featured न्यायपूर्ण र समतामूलक समाज निर्माण गर्न अग्रसर बनौं- राष्ट्रपति भण्डारी

न्यायपूर्ण र समतामूलक समाज निर्माण गर्न अग्रसर बनौं- राष्ट्रपति भण्डारी

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायपूर्ण र समतामूलक समाज निर्माण गर्न सबै अग्रसर हुनुपर्ने बताएकी छन्। ७३औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा एक सन्देश जारी गर्दै उनले सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकार सुनिश्‍चित गर्दै न्यायपूर्ण र समतामूलक समाज निर्माण गर्नेतर्फ सम्बद्ध निकाय अग्रसर हुनुपर्ने तर्क गरेकी छन्।

‘मानवअधिकारको संरक्षण, संवर्द्धनका विषयमा राज्य र राज्यका निकायहरू मात्र जिम्मेवार भएर पुग्दैन । यसका लागि सबै क्षेत्र, सबै पक्ष जिम्मेवार र जवाफदेही हुन आवश्यक छ ।

भण्डारीले मानव सभ्यता र समाज विकासको क्रम अगाडि बढ्दै जाँदा मानवअधिकारका विभिन्न आयामहरू थपिंदै गएका उल्लेख गरेकी छन् । लोकतान्त्रिक शासन व्यवस्थाको आधारस्तम्भको रूपमा रहेका मानवअधिकारको विश्‍वव्यापी अवधारणाहरूलाई गहिरोसँग आत्मसात् गर्दै तिनको प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिएकी छन् ।

संयुक्त राष्ट्रसंघ महासभाद्वारा सन् १९४८ डिसेम्बर १० का दिन मानवअधिकारको विश्‍वव्यापी घोषणापत्र जारी भएको दिनलाई अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको रूपमा प्रत्येक वर्ष मनाउने गरिन्छ । यस वर्ष नेपालमा पनि विविध कार्यक्रमका साथ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ ।

उनले संविधानमा मौलिक अधिकारका प्रावधानले मानवअधिकारको दायरालाई फराकिलो बनाएको बताएकी छन् ।

सम्बन्धित् समाचार