सैनामैना : रुपन्देहीको सैनामैना नगरपालिकाले पहिलो पटक गाईभैसींलाई न्यानो ओछ्यानमा सुत्न म्याट वितरण गरेको छ । नगरपालिकाको समन्वयमा पशु विकास शाखाले साना कृषि औजार तथा यन्त्र उपकरण अन्तर्गत आइतबार पचास प्रतिशत अनुदानमा यहाँका २१ जना व्यवसायिक कृषक फर्महरुमा रहेका गाईभैसींलाई ओछ्याउन १ सय ९८ वटा ‘काउ म्याट’ वितरण गरेको हो ।
उक्त ‘काउ म्याट’ वितरण गरेपछि फर्ममा रहेका गाइभैसीं जाडोयामको समयमा न्यानो ओछ्यानमा सुत्न पाउने भएका छन् । त्यसैगरीे शाखाले २० जना कृषकहरुलाई २० वटा विद्युतीय च्यापकटर पनि वितरण गरेको छ ।
कृषकहरुलाई उक्त च्यापकटर र म्याट वितरण गर्दै सैनामैना नगरपालिका प्रमुख चित्र बहादुर कार्कीले व्यवसायिक कृषि पेशा गर्ने किसानका लागि एकदम राम्रो सहयोग भएको भन्दै यसको भरपुर फाईदा लिन आग्रह गर्नुभयो । ११ लाख बराबरको ५० प्रतिशत अनुदानमा उक्त कृषि औजार वितरण गरिएको बताउँदै च्यापकटरले घाँस पराल काट्न र म्याट ओछ्याएपछि गाईलाई न्यानो हुने, बिरामी नहुने र भर्खर जन्मेका बाछाबाछी, पाडापाडीलाई पनि धेरै सहयोग पुग्ने प्रमुख कार्कीको भनाई छ ।








