गृहपृष्ठ Featured हृदयेश त्रिपाठीले गठन गरे ‘जनता प्रगतिशील पार्टी’

हृदयेश त्रिपाठीले गठन गरे ‘जनता प्रगतिशील पार्टी’

काठमाण्डौ : पूर्वमन्त्री हृदयेश त्रिपाठीले नयाँ पार्टी गठन गर्नुभएको छ । आज मङ्गलवार काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै पूर्वमन्त्री त्रिपाठीले जनता प्रगतिशील पार्टी गठन गर्नुभएको हो ।

पार्टी घोषणापछि पूर्वमन्त्री त्रिपाठीले देशमा पार्टीको अभाव भएर नयाँ पार्टी गठन नगरेको बताउनुभयो । उहाँले अहिले देशमा वैचारिक बहस शून्य रहेको र वर्तमान अवस्थामा राज्यका तीन वटै अङ्ग– व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका प्रभावहीन तथा गतिहीन भएकाले देशको राजनीतिलाई गतिशील बनाउन नयाँ पार्टी गठन गरेको बताउनुभयो ।

पूर्वमन्त्री त्रिपाठीले अन्य दलको आलोचना नगरि काम र सिद्धान्तले पार्टीलाई अघि बढाउने पनि दाबी गर्नुभयो । उहाँले संविधान कार्यान्वयनका क्रममा देखिएका जटिलताको पहिचान गरी आउँदो चुनाव पूर्वसहमति प्राप्त बुँदाहरूमा संविधान संशोधन गर्न आवश्यक रहेको भन्दै आफ्नो पार्टीले संविधान संशोधनका लागि काम गर्ने बताउनुभयो ।

पूर्वमन्त्री त्रिपाठीले संविधान संशोधन, लेखा परीक्षण, पालिकाको सीमाङ्कन, देशको अर्थतन्त्र, मुख्य अन्नबालीको न्यूनतम समर्थन मूल्य निर्धारण, तराई मधेशका पारम्परिक पेसाको संरक्षण, जन्मको आधारमा नागरिकता पाउनुपर्ने लगायतका कुरामा आफ्नो पार्टीले वैचारिक बहस गर्ने बताउनुभयो ।

उहाँले प्रतिनिधि सभा सदस्य रेशम चौधरी अहिलेसम्म जेलमा रहनु विडम्बना भएको र एमसीसी लगायत कतिपय विषयमा राष्ट्रिय सहमति खोज्नुपर्ने भनाइ राख्नुभयो ।

सम्बन्धित् समाचार