सागर वि.क (वैखरी अनलाईन) : कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं.७ मा आज(मंगलबार) सेनेटरी प्याड निर्माण सम्बन्धि तालिमको समापन गरिएको छ । ३ दिन सम्म चलेको तालिम बाणगंगा नगरपालिका वडा नं.७ र निरागृहिणी समाजको आयोजानामा मंसिर २६ गतेदेखि भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिका वडा नं.७ का वडाध्यक्ष विष्णु गिरीले कपडाबाट निर्माण गरिने प्याडले महिलाहरुको जीवन निर्वाह गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । वडाध्यक्ष गिरीले वडाले महिला लक्षित कार्यक्रममा महिलाको जीवन स्तर उकास्नका लागी विगतदेखि नै कार्यक्रमहरु संचालन गर्दै आएको र आगामी दिनमा पनि विभिन्न संघसंस्थाहरुसंग सहकार्य गर्दै यस्ता कार्यलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
तालिमकी प्रशिक्षक समेत रहेकी निरागृहिणी समाजकी अध्यक्ष निरा तिम्सिनाले महिलाहरुलाई स्वावलम्बी बनाउने उद्देश्यले कपडाबाट निर्माण गरिने महिला लक्षित सेनेटरी प्याड सम्बन्धि कार्यक्रम गरिएको र यसले प्रदुषण समेत कम गर्न सहयोग गर्ने दाबी गर्नुभएको छ । प्रशिक्षक तिम्सिनाले तालिमबाट प्राप्त गरेका सिपलाई सम्पूर्ण सहभागिले आफ्नो दैनिक जीवनमा लागु गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
उहाँले आफुले सिकेका कुराहरु आफ्ना नजिकका सबैलाई सिकाउन आग्रह समेत गर्नुभएको छ । तालिममा सहभागि महिलाहरुले पनि तालिमबाट आफुलाई दैनिक जीवनमा काम लाग्ने धेरै कुरा सिक्ने अवसर प्राप्त भएको भन्दै खुशी व्यक्त गरे । तालिममा ३० जना बढी महिलाहरुको सहभागिता रहेको थियो ।








