काठमाडौं : बेलायतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन तीव्ररुपमा फैलिरहेको छ। यहाँ हालसम्म करिब ५ हजार जनामा संक्रमण देखिएको छ। संक्रमित १० जना अस्पताल भर्ना भएका छन्।
बेलायतका स्वास्थ्यमन्त्रीले मंगलबार ओमिक्रोन भेरियन्ट तीव्ररुपमा फैलिरहेको भन्दै स्वास्थ्य प्रणाली नै ध्वस्त हुनसक्ने बताएका थिए। यो अवस्था आउन नदिन उनले भाइरस प्रतिबन्धलाई थप कडाइ गर्ने र बुस्टर भ्याक्सिनलाई तीव्रता दिनुपर्ने बताएका थिए।
बेलायतमा पछिल्लो २४ घन्टामा कोभिड-१९ बाट ५९ हजार ६१० जनामा संक्रमण पुष्टि भएको छ। कोरोनाबाट १५० जनाले ज्यान गुमाएका छन्। समाचारमा जनाइएअनुसार यहाँ हरेक दिनजसो ८११ जना अस्पताल भर्ना भइरहेका छन्।
हाल बेलायतको अस्पतालमा ७ हजार ४०० जना भर्ना भएका छन्। जुन जनवरीको तुलनमा कम हो। त्यतिबेला ३९ हजार मानिस अस्पतालमा भर्ना भएका थिए।
भारतमा ६४ जनामा ओमिक्रोन पुष्टि
भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमितको संख्या ६४ पुगेको छ। बुधबार थप ३ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ६४ पुगेको हो। सबैभन्दा बढि महाराष्ट्रमा भाइरसको संक्रमण देखिन थालेको छ।
यहाँ हालसम्म २८ जनामा संक्रमण पुष्टि भइसकेको छ। यसका साथै आलस्थानमा १७, कर्नाटकमा ३, गुजरातमा ४,केरलामा १, आन्द्रप्रदेशमा १,दिल्लीमा ६,तेलंगानामा ३ र चंडीगढमा १ जनामा संक्रमण देखिएको हो। कोरोनाविरुद्धको दुवै डोज लगाएकामा यो भाइरस देखिएको भारतीय संचारमाध्यममा समाचार छ।
दक्षिण कोरियामा तीव्ररुपमा फैलिदै कोरोना
दक्षिण कोरियामा कोरोना भाइरस संक्रमण तीव्ररुपमा बढिरहेको छ। यहाँ पछिल्लो २४ घन्टामा ७ हजार ८५० जनामा संक्रमण पुष्टि भएको छ भने ७० जनाले ज्यान गुमाएका छन्। दक्षिण कोरियामा हालसम्म कोरोनाबाट ४ हजार ४५६ जनाको मृत्यु भइसकेको छ। ९६४ जना संक्रमित गम्भीर अवस्थामा छन्। कोरोना संक्रमण तीव्ररुपमा फैलिएपछि त्यहाँ सामाजिक कार्यक्रममा प्रतिवन्ध गरिएको छ। यसका साथै कार्यालयको समय पनि घटाइएको छ।
विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले ओमिक्रोन अन्य भेरियन्टभन्दा तीव्ररुपमा फैलिरहेको चेतावनी दिएको छ । कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन संसारका अधिकांश मुलुकमा फैलिसकेको बताउँदै डब्ल्युएचओले यस्तो बताएको हो ।
डब्ल्युएचओका अनुसार संसारका विभिन्न ७७ वटा मुलुकमा ओमिक्रोन भेरियन्ट फेला परिसकेको पुष्टि भएको छ। ओमिक्रोन भेरियन्ट पहिलो पटक नोभेम्बर महिनामा दक्षिण अफ्रिकामा देखा परेको थियो। त्यसयता अफ्रिकी मुलुकहरुमा संक्रमण दर तीव्र बनिरहेको बताइएको छ।










